अब कांग्रेसको नेतृत्वमा सरकार बनाइन्छः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखक
टुरिजमफेस
काठमाडौं । गृहमन्त्री एवं कांग्रेस सांसद रमेश लेखकले कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागि पर्ने बताएका छन् । जनकपुरमा पार्टीको मधेश प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्दै उनले कांग्रेसका नेता–कार्यकर्ताहरूले लामो समयसम्म पनि कांग्रेसको सरकार नबनेको भन्ने गुनासो गरिरहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले त्यो गुनासो उचित रहेको बताए ।
कांग्रेसको नेतृत्वमा सरकार बनाउन आफूहरू गम्भीर रहेको र त्यसका लागि काम भइरहेको उल्लेख गरे । हाल आफूहरू संयुक्त सरकारमा रहेको बताउँदै दुई प्रतिस्पर्धी पार्टीहरूबीचको संयुक्त सरकार बनाउने विषयमा केही जटिलता रहेको उनले स्पष्ट पारे ।
उनले भने, ‘मधेश प्रदेशको सरकार पनि हामीले पालो–पालो गर्ने भनेर समझदारी गरेका छौँ । मधेश प्रदेशको सरकार पनि पालो–पालो परिवर्तन गर्ने कुरा छ, परिवर्तन हुन्छ । लामो समयसम्म कांग्रेसको सरकार बनेन भन्ने कुरा छ । साथीहरूले सही कुरा गर्नुभएको छ । यो विषयलाई हामीले केन्द्रमा गम्भीरतापूर्वक लिएका छौँ । यसको समाधानका लागि हामी लागिपरेका छौँ । हामी अहिले संयुक्त सरकारमा छौँ । नेपाली कांग्रेस र एमालेको सरकार छ । सरकार सञ्चालनमा एकै पार्टीको सरकार हुँदा पनि केही जटिलता हुन्छन् । दुई वटा प्रतिस्पर्धी पार्टीबीच संयुक्त रूपमा सरकार सञ्चालन गर्दा केही समस्या र जटिलता उत्पन्न हुने गर्छन् ।’
गृहमन्त्री लेखकले मधेश प्रदेश सरकारको आलोपालो नेतृत्व गर्ने सहमति भएको र पछिल्लो १० महिनामा अर्थतन्त्रमा ठूलो परिवर्तन आएको पनि बताएका छन् । न्युज एजेन्सी नेपाल