किन घट्न थाले नेपाल आउने पर्यटक ?

यातायात व्यवसायीका बन्दका कारण पोखरामा अलपत्र पर्यटक बसलाई स्कर्टिङ गर्दै सुरक्षाकर्मी
टुरिजमफेस
काठमाडौं । पर्यटन क्षेत्रमा सुधार गर्नुपर्ने र विदेशी पर्यटकका लागि अनेक सुविधा आवश्यक रहेको छलफल हुने क्रम बढे पनि पछिल्लो समयमा नेपाल आउने पर्यटकको संख्यामा कमी आएको छ ।
ताजा तथ्यांकले सरकारी निकायले काम भन्दा कुरा नै बढी गरिरहेको पुष्टि हुने पर्यटन व्यवसायी बताउँछन् । पर्यटन व्यवसायी कुमार कार्की पर्यटन क्षेत्रमा काम भन्दा बढी कुरा हुन थालेकाले सुधार हुन नसकेको बताउँछन् । नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा औसत मासिक १ लाखका दरले पर्यटक आगमन भइरहेको बेला मे महिनामा भने ८६ हजार २१६ मात्र पर्यटक आए ।
बोर्डका अनुसार सन् २०२५ को जनवरीदेखि मे महिनासम्म ५ लाख १ हजार २६४ पर्यटक नेपाल भ्रमणमा आएका छन् । पर्वतारोहणको मुख्य सिजन मानिने मे महिनामै पर्यटकको संख्या कमी आउनु भनेको सरकारी निकायको कार्यशैली सुधार गर्नु हो भन्ने कुरा पुष्टि हुने अर्का पर्यटन व्यवसायी रमेश शर्मा बताउँछन् ।
सन् २०२५ को मे महिनामा ८६ हजार २१६ पर्यटक नेपाल आए पनि अघिल्लो वर्ष ९० हजार २ सय ११ पर्यटक नेपाल आएका थिए । जबकि यो वर्ष सरकारी निकायले पर्यटन प्रवद्र्धनमा थुप्रै काम गरहेकाले पर्यटक संख्या बढ्ने दावी गरिरहेका छन् । यो वर्ष भारतीय पर्यटकको आगमन घटेको छ । पर्यटन व्यवसायीहरूका अनुसार केही वर्षअघिसम्म मे महिनामा सेता छाला भएका पर्यटक धेरै हुन्थे, त्यसपछि भारतीय पर्यटक आउन थाले तर अहिले भारतीय पनि घट्नु भनेको पर्यटन क्षेत्रका लागि निराशा हो ।
मे २०२५ मा २८ हजार १६० भारतीय पर्यटक नेपाल आएको बोर्डले जनाएको छ । अघिल्लो वर्ष यसै महिनामा ३८ हजार २८८ भारतीय पर्यटक नेपाल घुम्न आएका थिए । मे महिनामा चीनबाट ८ हजार ८२४ पर्यटक आउँदा अमेरिकाबाट ९ हजार ७४ पर्यटक नेपाल आएका छन् । नेपालमा पर्यटकका लागि प्रशासनिक झन्झट बढी हुने गरेको, सानो निहुँमा वा स्वार्थपूर्तिका लागि सडक बन्द जस्ता कार्य जारी रहेको तथा पर्यटकलाई अड्याउने सुविधा नहुनु मुख्य समस्या रहेको अनुभवी पर्यटन व्यवसायी बताउँछन् ।
यातायात व्यवसायीका बन्दका कारण पोखरामा अलपत्र पर्यटक बसलाई स्कर्टिङ गर्दै सुरक्षाकर्मी