सुदूरपश्चिम समृद्ध पर्यटन अर्थतन्त्रमा रूपान्तरण हुन सक्छः एसियाली विकास बैंक

टुरिजमफेस
काठमाडौं । सुदूरपश्चिम प्रदेश समृद्ध पर्यटन अर्थतन्त्रमा रुपान्तरण हुन सक्ने ताजा अध्ययनले देखाएको छ । एसियाली विकास बैंक (एडिबी) ले गरेको ‘सुदूरपश्चिम एकीकृत आर्थिक तथा पर्यटन विकास अध्ययन’ का आधारमा सुदूरपश्चिम प्रदेशका अधिकांश स्थल पर्यटकीय रहेको उल्लेख गर्दै दिगो र समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न विभिन्न निकायमा सिफारिस गर्न सकिने पाइएको छ ।
‘अध्ययनले कनेक्टिभिटी (यातायात सञ्जाल), पर्यटकीय गन्तव्यहरू र जनशक्तिको क्षमता विकास लक्षित लगानीद्वारा सुदूरपश्चिमलाई समृद्ध पर्यटन अर्थतन्त्रमा रूपान्तरण गर्न सकिने देखिएको छ,’ नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले भने ।
उक्त प्रदेशको प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदा अत्यन्त अनुपम रहेको अध्ययनले देखाएको छ । जे–जति प्राकृतिक स्रोत र साधन छन्, तिनीहरूको तुलनामा पर्यटनको सम्भावना अझैसम्म उपयोग हुन नसकेको एडिबीको अध्ययनमा पाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुरोधमा एडिबीले उक्त अध्ययन गरेको हो । साथै समग्र पर्यटन सर्किट र पर्यटकीय गन्तव्यहरूको विकास, सुशासन, दक्ष जनशक्ति विकास र निजी लगानी आकर्षणका लागि सहकार्य आवश्यक रहेको एडिबीले जनाएको छ ।
कोश्वाले भने सुदूरपश्चिम प्रदेशले आयोजना गर्न लागेको लगानी सम्मेलनले सार्वजनिक–निजी साझेदारीलाई प्रवद्र्धन गर्ने र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य बढाउन उपयुक्त मञ्च प्रदान गर्ने बताए । अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा परराष्ट्रमन्त्री डा. आरजु राणा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सहभागी थिए ।