‘टेक एण्ड पे’ पीपीएले संकटमा ऊर्जा क्षेत्र, आरओआर आयोजनाको भेलागरी आन्दोलनको तयारी गर्दै प्रवर्द्धक

टुरिजमफेस
काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा राखिएको ‘रन अफ रिभर आयोजनाको ‘टेक एण्ड पे’ अवधारणा अनुरूप विद्युत खरिद सम्झौता (PPA) गरिनेछ’ भन्ने व्यवस्था विरुद्ध प्रवर्द्धकहरुले आन्दोलनको तयारी गरेका छन् ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) ले सरकारले लिएको यो नीति तत्कालन नसच्याउने हो भने शसक्त आन्दोलनमा जाने तयारी सहित भोलि जेठ २२ गते प्रवर्द्धकहरुको भेला डाकेको छ ।
सरकारले आगामी आवको बजेटमा गरेको व्यवस्थाले १७ हजार मेगावाट बराबरका आयोजनाको निर्माण कार्य उच्च जोखिममा परेको र त्यस्ता आयोजनामा लगानी भएको ६६ अर्ब रुपैयाँ डुब्ने अवस्था सिर्जना भएको इप्पानको भनाई छ ।
सरकारले गरेको व्यवस्थाले ऊर्जा क्षेत्र संकटमा पर्ने भन्दै इप्पानले शसक्त आन्दोलनमा जाने तयारी स्वरुप बिहीबार प्रवर्धकहरुलाई नयाँ बानेश्वरको एभरेष्ट होटेलमा छलफलका लागि बोलाएको इप्पानका महासचिव बलराम खतिवडाले जानकारी दिए ।
सरकारले प्रवर्धकको माग पुरा नगरेको खण्डमा छलफल पछि शसक्त आन्दोलनका कार्यक्रम घोषणा हुने खतिवडाले बताए ।
सरकारले यो व्यवस्था कायमै राखेको खण्डमा कुनै बैंक तथा वित्तिय संस्थाहरुले जलविद्युत् आयोजनामा ऋण लगानी नगर्ने भएकाले उत्पादन अनुमतिपत्र प्राप्त, उत्पादन अनुमतिका लागि आवेदन दिएका, सर्वेक्षण अनुमतिपत्र प्राप्त र यसका लागि आवेदन दिएकासहित १७ हजार मेगावाट बराबरका आयोजनाको निर्माण अनिश्चित भएको इप्पानले जनाएको छ ।
यो विषयमा इप्पानले ऊर्जा मन्त्री दिपक खड्का, उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेललाई संयुक्त रुपमा भेटेर गम्भीर ध्यानाकर्षण गराइसकेको छ ।
आरओआर आयोजनाको पीपीए टेक एण्ड पे मा मात्रै गर्न निजी क्षेत्रले अव बढीमा ३ दर्जन हाराहारी पीआरओआर जलविद्युत आयोजनाको मात्रै टेक अर पे मा पीपीए गर्न सक्छन् । जसको क्षमता करिब २ हजार मेगावाट हाराहारी मात्रै रहेको छ ।