लाङटाङ ट्रेल रनमा एक सय धावक (फोटो फिचर)

टुरिजमफेस
लाङटाङ । क्यान्जिन भ्यालीसहित रसुवा र नुवाकोटको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो वर्षदेखि लाङटाङ ट्रेल रन सुरु भएको छ । लाङटाङ ट्रेल रन रसुवा र नुवाकोटका पर्यटनकर्मीहरू मिलेर रसुवा नुवाकोट पर्यटन समाजको आयोजनामा गरिएको छ ।
तीन हजार आठ सय पचास मिटर उचाइमा रहेको क्यान्जिन गुम्बादेखि स्याफ्रुबेसीसम्म उक्त ट्रेल रनको दूरी ३२ किलोमिटरको छ । ट्रेल रनमा स्वदेशी र विदेशी गरी कुल एक सय धावकको सहभागिता छ ।
बागमती प्रदेशकै प्रमुख हिमाली पर्यटन गन्तव्य र नेपालको तेस्रो गन्तव्य हो, लाङटाङ। हिमालै हिमालको बिचमा रहेको क्यान्जिन भ्याली अर्थात् क्यान्जिन गुम्बाबाट लाङटाङ ट्रेल रन सुरु गरिएको हो । लाङटाङ क्षेत्रलाई पदयात्राका साथै दौड र म्याराथन गन्तव्यका रूपमा स्थापित गराउन यस ट्रेल रनले सहयोग पुग्ने आयोजकको विश्वास छ ।
यो वर्षको ट्रेल रन संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेश र नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग र गोसाईंकुण्ड गाउँपालिकाको सहकार्यमा रसुवा नुवाकोट पर्यटन समाजले ट्रेल रन आयोजना गरेको हो । लाङटाङ ट्रेल रनमा महिला र पुरुषको विजेताले छुट्टाछुट्टै नगद पुरस्कार पाउनेछन् ।
धावकहरू क्यान्जिन गुम्बादेखि ३२ किलोमिटर ट्रेल दौडिएर स्याफ्रुबेसी पुग्नेछन् । पहिलोदेखि पाँचौँ स्थानमा रहने खेलाडीले क्रमशः एक लाख, ७५ हजार, ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार पाउने भएका छन् ।
लाङटाङ ट्रेल रन लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको समाजका अध्यक्ष बलराम न्यौपानेले बताए । तस्बिरः नेपाल फोटो लाइब्रेरी