चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाने योजना छ ? त्यसो हो भने सोच्ने कि ?

टुरिजमफेस
काठमाडौं । चितवन त्यसमा पनि राष्ट्रिय निकुञ्ज घुम्न जाने योजना बनाउनु भएको छ ? त्यसो हो भने एकछिन सोच्नुहोस् है किनकि असार १५ गतेदेखि जिप सफारी बन्द हुँदैछ । चितवन घुम्न जाने अधिकांश पर्यटकको चाहना जिप सफारी गर्ने हुन्छ ।
तर असार १५ गतेदेखि निकुञ्जले हरेक वर्षझै यसपटक पनि तीन महिनालाई निकुञ्जभित्र जिप सफारी बन्द गर्ने तयारी गरेको छ । खासगरी वर्षायाममा अनेक समस्या आउने भएकाले निकुञ्जले जिप सफारी बन्द गर्ने गर्छ ।
गत वर्ष असार १६ गते बन्द भएको जिप सफारी असोज २४ गते फूलपातीदेखि पुनः सञ्चालन गरिएको थियो । यो वर्ष पनि वर्षा सकिएपछि जिप सफारी सुरु गरिने निकुञ्जले जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले वर्षायाममा पानी बढी हुने, खोला बढ्ने, रुखहरू ढल्ने, घाँस बढ्ने तथा बाटोसमेत बिग्रने र चिप्लो हुने भएका कारण जिप सफारी बन्द गर्ने चलन रहेको बताउँछन् ।
यद्यपि निकुञ्जभित्र जिप सफारी बन्द भए पनि मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनहरूमा भने जिप तथा हात्ती सफारी यथावत रहने बताइएको छ । तर निकुञ्जभित्र सफारी गर्दा संरक्षित जनावर देख्ने सम्भावना बढी हुन्छ ।
निकुञ्जले हरेक वर्ष जिप सफारीबाट ठूलो रकम आम्दानी गर्दै आएको छ । निकुञ्ज घुम्ने अधिकांश पर्यटकहरूले जिप सफारी गर्दछन् । हरेक वर्ष चितवन निकुञ्जमा औंसत दुई लाख स्वदेशी तथा विदेशी पर्यटकहरू घुम्ने गरेको तथ्यांक छ ।
निकुञ्ज घुम्ने पर्यटकले प्रतिजिपको प्रवेश शुल्क ५ हजार, विदेशी पर्यटकले प्रतिव्यक्ति प्रवेश शुल्क २ हजार, सार्क मुलुकका पर्यटकले एक हजार र नेपालीका लागि प्रतिव्यक्ति १५० रूपैयाँ तिर्नुपर्छ । एउटा जिपमा १० पर्यटकसम्म बसेर घुम्न मिल्छ ।