साढे दुई लाखभन्दा बढी पर्यटकले गरे टीकापुर पार्क अवलोकन

टुरिजमफेस
कैलाली । गत आर्थिक वर्षमा कैलालीको टीकापुर पार्कमा साढे दुई लाखभन्दा बढी पर्यटकले अवलोकन गरेका छन् ।
आर्थिक वर्ष २०८१-८२ मा दुई लाख ५३ हजार चार सय ६८ जना आन्तरिक पर्यटकले टीकापुर पार्कको अवलोकन गरेका हुन् ।
टीकापुर नगरपालिकाको मातहतमा रहेको टीकापुर पार्कबाट नगरपालिकाले गत आवमा रु ९३ लाख ४४ हजार चार सय १० राजस्व सङ्कलन भएको छ । आव २०८०-८१ मा नगरपालिकाले पार्कबाट रु ६३ लाख ९७ हजार एक सय ७५ राजस्व सङ्कलन गरेको थियो ।
टीकापुर नगरपालिकाका राजस्व शाखा प्रमुख नन्द केसीले दिएको जानकारी अनुसार गतवर्ष दुई लाख १८ हजार दुई सय ८ जना स्वदेशी पर्यटकले पार्कको अवलोकन गरेका थिए । जसबाट रु ६५ लाख ४६ हजार दुई सय ४० राजस्व सङ्कलन भएको छ भने ३५ हजार दुई सय ६० जना विद्यार्थी तथा जेष्ठ नागरिकहरूले पार्क अवलोकन गरेका छन् । उनीहरूबाट नगरपालिकाले पाँच लाख ५८ हजार नौ सय राजस्व सङ्कलन भएको देखिन्छ ।
त्यतिमात्र नभई पार्क अवलोकनमा आउने पर्यटकहरुको सवारीसाधन पार्किङबाट मात्रै रु आठ लाख ३७ हजार एक सय राजस्व उठेको नगरपालिकाका राजस्व शाखा प्रमुख केसी बताउछन् । त्यसैगरी पिकनिक स्पट, फोटोग्राफी, क्यामरालगायत विविधबाट रु १४ लाख ३२ हजार एक सय ७० सङ्कलन भएको छ ।
पार्कमा रहेको वीरेन्द्र विश्राम घर पर्यटकका लागि खुला गरिएपछि पछिल्लो समय पर्यटकहरुको आवागमन बढ्दै गएको हो । पार्कमा पछिल्लो समय दैनिक करिब पाँच सय पर्यटन अवलोकनका लागि आउने गरेका छन् ।