विदेश घुम्ने नेपाली बढ्दै, पाँच वर्षमा वार्षिक औसत दुई लाख पर्यटकीय यात्रामा
काठमाडौं । नेपालीको विदेश यात्रा अब वैदेशिक रोजगारी र अध्ययनमा मात्र सीमित छैन। पछिल्लो पाँच वर्षको तथ्यांकले घुमफिर र तीर्थयात्राका लागि विदेश जाने नेपालीको संख्या पनि उल्लेख्य रहेको देखाएको छ।
अध्यागमन विभागका अनुसार सन् २०२१ देखि २०२५ सम्म हरेक वर्ष औसत १ लाख ९९ हजार ९७६ नेपाली पर्यटन तथा तीर्थयात्राका लागि विदेशिएका छन्। सन् २०२५ मा मात्रै यस्तो उद्देश्यले विदेश जाने नेपालीको संख्या २ लाख ३३ हजार१०८ पुगेको छ।
यस तथ्यांकमा अध्ययन, रोजगारी, परिवार तथा आफन्त भेटघाट, अस्थायी तथा स्थायी बसोबासलगायत अन्य प्रयोजनमा विदेश जाने नेपालीलाई समावेश गरिएको छैन। सम्मेलन, व्यवसाय, उपचार, सरकारी भ्रमण, सांस्कृतिक तथा खेलकुद कार्यक्रमका लागि हुने यात्रासमेत पर्यटनको शीर्षकमा राखिएको छैन।
विदेश यात्रा रोजगारीबाट घुमफिर र अध्ययनतर्फ पनि
अध्यागमन विभागको पाँच वर्षको विवरणअनुसार सन् २०२१ देखि २०२५ सम्म विभिन्न प्रयोजनका लागि ७१ लाख २६ हजार ४५९ नेपाली विदेशिएका छन्। तीमध्ये करिब ५२ प्रतिशत वैदेशिक रोजगारीका लागि गएको विभागले जनाएको छ।
रोजगारीपछि विदेशिने नेपालीको ठूलो हिस्सा पर्यटन तथा तीर्थयात्रासँग सम्बन्धित रहेको छ। यस्तो यात्राको हिस्सा औसतमा करिब १४ प्रतिशत देखिन्छ।
त्यसैगरी विदेशमा अस्थायी आवासका लागि जानेको हिस्सा ५.२५ प्रतिशत र स्थायी बसोबासका लागि जानेको हिस्सा ४.२० प्रतिशत छ। विभागको विश्लेषणमा विदेशिने नेपालीमध्ये ठूलो हिस्सा आर्थिक अवसर, रोजगारी र बसाइँसराइसँग जोडिएको देखिए पनि पर्यटन र अध्ययनका लागि हुने यात्राले पनि निरन्तर गति लिइरहेको छ।
पाँच वर्षमा शिक्षाका लागि विदेशिने पाँच गुणाभन्दा बढी
विदेश जाने नेपालीको उद्देश्यमा आएको अर्को महत्वपूर्ण परिवर्तन शिक्षा हो।
सन् २०२१ मा अध्ययनका लागि विदेशिने नेपालीको संख्या २६ हजार रहेकोमा सन् २०२५ मा यो संख्या बढेर १ लाख ३३ हजार ८७० पुगेको छ। अर्थात् चार वर्षको अवधिमा अध्ययनका लागि विदेश जाने नेपालीको संख्या पाँच गुणाभन्दा बढीले बढेको छ।
पाँच वर्षको औसत हेर्दा हरेक वर्ष करिब ९७ हजार ९५६ नेपाली अध्ययनका लागि विदेशिएका छन्।
यसले नेपाली युवाको विदेश यात्रा केवल तत्कालीन रोजगारीमा सीमित नरही उच्च शिक्षा, रोजगारी र दीर्घकालीन बसोबासतर्फ समेत उन्मुख हुँदै गएको संकेत गरेको विभागको विश्लेषण छ।
परिवार भेट्न जानेको संख्या पनि उल्लेख्य
अध्यागमन तथ्यांकअनुसार परिवार वा आफन्त भेटघाटका लागि पनि ठूलो संख्यामा नेपाली विदेशिने गरेका छन्। सन् २०२१ देखि २०२५ सम्म यस्तो प्रयोजनका लागि वार्षिक औसत १ लाख १६ हजार ३७८ नेपाली विदेशिएका छन्। सन् २०२५ मा यो संख्या करिब १ लाख ३० हजार पुगेको छ।
अस्थायी बसोबासका लागि वार्षिक औसत ७४ हजार ८८१ र स्थायी बसोबासका लागि औसत ५९ हजार ८६४ नेपाली विदेशिने गरेका छन्। सन् २०२५ मा यी संख्या क्रमशः ९७ हजार ९३९ र ६४ हजार ७६० पुगेका छन्।
यसैगरी अन्य प्रयोजनमा वार्षिक औसत ३२ हजार ८५०, आश्रितका रूपमा १९ हजार ९४९, सम्मेलन तथा तालिमका लागि १७ हजार ५९७ र व्यवसायका लागि करिब १४ हजार ८६० नेपाली विदेशिने गरेका छन्।
स्वास्थ्य उपचारका लागि वार्षिक औसत १५ हजार ८११, सरकारी भ्रमणमा ११ हजार २५४ तथा अनुमति आवश्यक नपर्ने रोजगारीका लागि ८ हजार ६८६ नेपाली विदेशिने गरेको विभागको विवरण छ।
नेपालीको रोजाइमा खाडी मुलुकदेखि जापान–अस्ट्रेलियासम्म
नेपालबाट विदेशिने यात्रुको गन्तव्य हेर्दा संयुक्त अरब इमिरेट्स (यूएई) सबैभन्दा अगाडि देखिन्छ। रोजगारीसहित सबै प्रयोजनका यात्रु समेटिएको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा यूएई जाने नेपालीको वार्षिक औसत संख्या २ लाख ७१ हजार ८९३ छ।
त्यसपछि कतारमा वार्षिक औसत १ लाख ६८ हजार ४८९ र साउदी अरबमा १ लाख ४४ हजार ३६७ नेपाली पुग्ने गरेका छन्।
भारतमा वार्षिक औसत १ लाख १३ हजार ८५३, मलेसियामा १ लाख ५ हजार ८३६ नेपाली जाने गरेका छन्।
जापानमा वार्षिक औसत ८१ हजार ७४८ र अस्ट्रेलियामा ८२ हजार ५६७ नेपाली पुग्ने गरेको तथ्यांक छ। अमेरिकामा वार्षिक औसत ६० हजार १४८, चीनमा ५१ हजार २२४, बेलायतमा ४५ हजार ४६५ र कुवेतमा ४५ हजार ७४७ नेपाली जाने गरेका छन्।
थाइल्यान्डमा वार्षिक औसत २६ हजार ६४६, दक्षिण कोरियामा २८ हजार ६९९, ओमानमा १४ हजार ५५७ र हङकङमा १४ हजार ३८८ नेपाली पुग्ने गरेको विभागले जनाएको छ।
विदेश यात्राको नयाँ बजार
अध्यागमन विभागको तथ्यांकले नेपाली समाजमा विदेश यात्राको स्वरूप विस्तार हुँदै गएको देखाउँछ। रोजगारीका लागि विदेश जाने परम्परागत प्रवृत्तिसँगै अध्ययन, तीर्थयात्रा, पारिवारिक भेटघाट र मनोरञ्जनका लागि हुने यात्रासमेत बढ्दै गएको छ।
वार्षिक करिब दुई लाख नेपाली घुमफिर तथा तीर्थयात्राका लागि विदेशिनुले नेपाली पर्यटन बजारको अर्को पाटो पनि देखाउँछ। यसले नेपालभित्र विदेशी पर्यटक आकर्षित गर्ने प्रयाससँगै नेपालीलाई स्वदेशमै घुमफिर गराउने पर्यटन रणनीतिको आवश्यकता पनि औँल्याएको छ।
विशेषगरी विदेश भ्रमणमा जाने नेपालीको खर्च स्वदेशभित्रै परिचालन गर्न सकिए आन्तरिक पर्यटन, होटल, यातायात, साहसिक पर्यटन तथा धार्मिक गन्तव्यको विकासमा योगदान पुग्न सक्ने देखिन्छ।
