पर्यटनबाट के पायौं भन्ने प्रश्नको जवाफ खोज्ने बेला आयो

विनायक शाह
देशको अवस्था, विकासको अवस्था र विश्व परिवेश तथा छिमेकी देशका कारणले नेपालको सम्भावना पर्यटन हो । पर्यटनमा हामी कोहीसँग भर पर्नु पर्दैन । सबैले यस्तै कुरा भन्दै आएका छौं । हामीसँग सबै कुरा हुँदाहुँदै पनि पर्यटन क्षेत्रबाट के पायौं त ? भन्ने कुरा महत्वपूर्ण छ । अब यसको जवाफ खोज्ने बेला आएको छ ।
नेपालका होटलले आजको दिनमा झन्डै ३६ लाख पर्यटकलाई सेवा दिन सक्छन् । देशभरि नै ठूला होटल पुगिसके । विदेशी चेन होटल नेपालमा आइसके । तर नेपाल आउने पर्यटकको संख्या वर्षमा १२ लाख पनि पुग्न गाहे छ । यसको अर्थ हामीसँग जे छ त्यसको उपयोग गर्न सकिएको छैन । माल पाएर पनि चाल नपाएको अवस्था छ । पर्यटन क्षेत्रको कुरा गर्दा सम्भावना धेरै छ । तर व्यवस्थापन राम्रो छैन । पर्यटन कसरी ल्याउने भन्ने समस्या ज्युँकात्यु छ । देशमा विमानस्थल वा बाटो नभएको पनि होइन ।

जसरी कुनै घर, कार्यालय चलाउँदा योजना चाहिन्छ । त्यसरी नै पर्यटन क्षेत्रका लागि पनि योजना चाहिन्छ । नेपालमा अहिलेसम्म पर्यटनको विकास गर्ने योजना छैन । १६ औं योजनाले केही भनेजस्तो गरे पनि व्यवहारिक योजना देखिँदैन ।
पर्यटनको विकासका लागि हामी कसरी अघि बढ्छौ भन्ने समस्या छ । पर्यटनका कार्यक्रम घोषणा गर्ने अनि चुप लागेर बस्ने गरिन्छ । हिन्दु, बुद्ध, शिख सर्किट जस्ता कार्यक्रम घोषणा गरिएका छन् । तर ती योजना कसले कार्यान्वयन गर्ने भन्ने अन्योल छ । सरकारले सुरु गरेका काम नै पूरा हुन सकिरहेका छैनन् । सुरु गरिएका पर्यटनका योजनाको पत्तो छैन ।
पर्यटन दशक पनि हरायो । सन् २०२५ देखि २०३५ सम्म पर्यटन दशक गर्ने भनिएको थियो । पर्यटन दशक गर्ने कुरामा अहिले आएर पर्यटन मन्त्री पनि चुप लागे । पर्यटन ऐन र पर्यटन नीति पनि निकै पुरानो भइसक्यो । तिनमा थुप्रै कुरा सुधार गर्न बाँकी छन् । पर्यटन नीति २०३५ मा आएको हो ।
पर्यटन नीति आएको यतिका वर्षसम्म जस्ताको त्यस्तै भइरहनुको कारण व्यवस्थापकीय समस्या नै हो । हरेक तीन महिनामा सचिव फेरिन्छन् । कर्मचारी फेरिएका फेरियै छन् । जो सत्तामा पुग्छन्, उनीहरूका वरिपरिका मान्छेको हालीमुहाली हुने गरेको छ । रेमिटेन्सपछि धेरै कमाउने पर्यटन क्षेत्र हो । तर यसको महत्व बुझ्न सकेको देखिँदैन । सरकारले आफैंले भनेका कुरा कार्यान्वयन गर्दैन । कम्तीमा सरकारी नीति, कार्यक्रम, मौद्रिक नीतिमा आएका योजना त कार्यान्वयन हुनुपर्ने हो ।
गत वर्षकै कुरा गर्ने हो भने बजेटमा पर्यटनसँग सम्बन्धित ८२ कार्यक्रम राखिएका छन् तर १२ ओटा पनि कार्यान्वयन भएनन् । ती कार्यक्रम कार्यान्वयन नभई नयाँ बजेट आइसक्यो । यो पुरानैदेखिको समस्या हो । यहाँ कोही पनि उत्तरदायी छैनन् । मिडियाले भनेको कुरा पनि सुन्दैन सरकारले ।
पछिल्लो वर्ष निजी क्षेत्रले भने केही क्षमता विस्तार गरेको छ । सन् २०२० मा भिजिट नेपाल मनाउने भनेका कारण पोखरा र भैरहवामा विमानस्थल बन्न थालेपछि होटल थपिन थालेका हुन् । दुर्भाग्य, दुइटै विमानस्थल चलेनन् । कोरोना महामारीका कारण भिजिट नेपाल कार्यक्रम पनि भएन ।
पोखरा र भैरहवा विमानस्थलको हालत
अहिलेको सरकारी संयन्त्रबाट पोखरा र भैरहवा विमानस्थल चल्न सक्दैनन् । कर्मचारीसँग विमानस्थल चलाउने ल्याकत हुँदैन । अमेरिकामा पनि कर्मचारीले विमानस्थल चलाउन सक्दैनन् । कर्मचारीको भरमा विमानस्थल चल्छ भनेर कसैले पनि विश्वास गर्दैनन् । कर्मचारीको काम फाइल चलाउने मात्र हो ।
विमानस्थल चलाउन विशिष्टीकृत सीप र ज्ञान जानेका व्यक्ति चाहिन्छन् । त्यसैले विमानस्थल चलाउन कोही अनुभवी व्यक्तिलाई ल्याउने हो कि भन्ने मेरो धारणा छ । भारतको इन्दिरा गान्धि विमानस्थल व्यवसायी गौतम अदानीले चलाएका हुन् । त्यसैले उनैलाई भैरहवा र पोखरा विमानस्थल चलाउने जिम्मा दिने हो कि ? गौतम अदानी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बन्ध पनि राम्रो भएकाले अहिले देखिएको भारतसँगको समस्या पनि समाधान हुन सक्छ ।
विमानस्थल चल्ने आशाले भैरहवामा धमाधम होटल खुलिसके । ठूलो लगानी भइसक्यो । विमानस्थल नचल्दा भैरहवामा खुलेका कैयन होटल लिलाम बढाबढमा गइसके । होटल पवन बिक्री भइसक्यो । भैरहवा र पोखरामा तत्काल व्यावसायिक उडान हुन सक्ने देखिँदैनन् । तर चार्टर उडान भने प्रशस्तै हुन सक्छन् । जसरी साउदीको मक्का मदिनामा हरेक वर्ष लाखौं मुस्लिम पुग्छन् । त्यसरी नै भैरहवा विमानस्थलमा पनि संसारभरका बुद्धमार्गी आउन सक्छन् ।
वैवाहिक गन्तव्य बन्न सक्छ नेपाल
नेपालमा पर्यटकको सम्भावना जति पनि छ । तीमध्येको एउटा वैवाहिक गन्तव्य बनाउन सकिन्छ । विवाहका लागि भारतीय मध्यम परिवार नेपाल आउन सक्छन् । उनीहरु विवाहका लागि नेपाल आउन चाहन्छन् । तर विहेका लागि नेपाल आउनेलाई राम्रो व्यवहार भइरहेको छैन । केही समय पहिला भारत, बहराइचको एक परिवार बिहे गर्न नेपालगन्ज आए ।
नेपालगन्जको होटल सोल्टीमा वैवाहिक कार्यक्रम थियो । विवाहका लागि उनीहरुले प्रशस्त सुन ल्याएर आएका थिए । तर प्रहरीले सुन ल्याएकै कारण २७ लाख जरिवाना तिरायो । यस्तो कार्यले कसरी पर्यटकको मनोवल वृद्धि होला ? नेपालको विद्यमान कानुनले विदेशबाट एउटा व्यक्तिले ५० ग्रामभन्दा बढी सुन ल्याउन पाउँदैन । यस्तो समस्याको समाधान नभएको त होइन नि । विहेका लागि आउने परिवारले के कति सुन ल्याएका हुन् सबै रेकर्ड राखेर सहजीकरण गर्न सकिन्छ ।
हाम्रो ध्यान समस्या समाधान गर्नेभन्दा पनि कसरी समस्या बल्झाउनेतिर बढी केन्द्रित देखिन्छ ।अर्कोतर्फ कर्मचारी पनि काम गर्न चाहँदैनन् । काम गर्दा विवादमा परिन्छ भन्ने कर्मचारीमा डर छ । त्यस्तै सबैतिर चरम राजनीतिकरण छ । दक्ष जनशक्ति पाउन पनि गाह्रो छ । मैले नै विद्यार्थी ल्याएर काम चलाइरहेको छु । ती मान्छे काम गर्छन् अनि सिकेपछि छोडेर जान्छन् । मलाई त के लाग्छ भने हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने सबैले कम्तीमा एक वर्ष स्वदेशमा काम गर्ने व्यवस्थालाई अनिवार्य गर्नुपर्छ ।
जसरी वैदेशिक अध्ययनका लागि एनओसी आवश्यक हुने नियम छ । नेपालमा थोरै पारिश्रमिक पाइन्छ भन्ने हौवा पनि छ । होटल, रेष्टुरेन्टको व्यापार नै राम्रो नभएपछि राम्रो आम्दानी हुँदैन । राम्रो आम्दानी गर्न नसकेपछि कसरी राम्रो पारिश्रमिक दिन सकिन्छ ? थोरै पैसा दिनुको कारण आम्दानी नभएरै हो । अहिले होटल हेर्नुभयो भने अधिकांश कोठा खाली छन् ।
हाल २८ ओटा पाँचतारे होेटल छन् । स्टार, शेर्पा होटल माओवादी आन्दोलनताका नै बन्द भए । यसरी बन्द हुँदा होटललाई त फाइदा भयो । तर देशले पुराना होटल गुमायो । अर्कोतर्फ भारतीयहरूका लागि मदन भण्डारी राजमार्ग आसपासमा हिल रिसोर्टको विकास गर्न सकिन्छ । भारतमा ५० डिग्री तापक्रम हुँदा मदन भण्डारी राजमार्ग आसपासमा २२ डिग्री तापक्रम हुन्छ । यस्तो अवस्थामा भारतीय पर्यटक आउन सक्छन् । तर ती पर्यटकलाई कसरी नेपाल ल्याउने कसैले सोच्दैनन् ।
पर्यटन बोर्डले औचित्य सावित गर्नुपर्छ
पर्यटन क्षेत्रको विकासका लागि पर्यटन बोर्ड स्थापना गरिएको छ । तर के पर्यटन बोर्डले उद्देश्य अनुसार काम गरिरहेको छ त ? भन्ने प्रश्न महत्वपूर्ण छ । अहिले भारतीय पर्यटक घटेका छन् । यसको कारण खोजिएको छैन । गत वर्ष नेपाल घुम्न आएका भारतीय पर्यटकको गाडी पहिरोमा परे । बस हराए । सरकारले बस कहाँ गयो भनेर न खोज्न सक्यो न सुरक्षा गर्न सक्छौं नै भन्यो । सरकार केही नबोल्दा भारतमा नकारात्मक प्रभाव परिरहेको छ ।
पर्यटन बोर्डले दिएको बजेट पनि खर्च गर्न सक्दैन । जति खर्च हुन्छ कमर्चारी घुमेरै सक्छन् । उपलब्धि के भयो ? त्यस्तै नेपाल एअरलाइन्सले काम नगरेको भनेर प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायतले भनेको सुनिन्छ । तर खै त त्यस्तालाई कारवाही गर्न सकेको ? मन्त्री र राजनीतिक संयन्त्रलाई कर्मचारीतन्त्रले घुमाइरहेको छ । केही वर्षअघि (तेस्रो लगानी सम्मेलनमा) स्वीस, फ्रेन्च र जर्मन लगानीकर्ताले बोक्यो तालमा कोल्ड आइस इस्केटिक खेल्ने व्यवस्थाका लागि चासो राखेका थिए ।
यसका लागि सगरमाथाको वरिपरि स्थान पनि हेरेका थिए । जसमा म पनि एक जना थिएँ । तर सरकारको व्यवहारलगायत कर नीतिले नेपाल परिपक्व नभएको भन्दै उनीहरू फर्किए । त्यसका लागि मन्त्रीलाई पनि भेटायौं । मन्त्रीले एक्सिलेन्स आइडिया त भने तर कामै गरेनन् । एउटा निकायले अर्को निकायलाई देखाएरै समय खेर फाल्यो ।
बल्ल गुड मर्निङ भन्न सिक्दैछौं
विभिन्न रेकर्ड हेर्दा नेपालमा २००७ देखि पर्यटक आउन थालेका हुन् । तर बल्ल २०८२ मा आएर विमानस्थलमा काम गर्ने कर्मचारीलाई विदेशबाट आउने पर्यटकलाई गुड मर्निङ र गुड अप्mटरनुन भन्न सिकाउँदैछौं । यसले गर्दा हाम्रो व्यवस्थापन कुन स्तरमा छ भन्ने देखाउँछ । अध्यक्ष, होटल एशोसिएसन नेपाल (हान)