हिमाल आरोहणबाट राज्यलाई उत्साहजनक आम्दानी: १ अर्ब नाघ्यो रोयल्टी, ९४४ आरोहीलाई अनुमति
काठमाडौं ।यस वर्षको बसन्त ऋतुमा हिमाल आरोहण गतिविधि उल्लेख्य रूपमा बढ्दै जाँदा राज्यले संकलन गर्ने रोयल्टी रकम पनि १ अर्ब रुपैयाँ नाघेको छ। पर्यटन विभागका अनुसार बिहीबारसम्म ९४४ जना विदेशी तथा स्वदेशी पर्वतारोहीले विभिन्न हिमाल चढ्न अनुमति लिएका छन्।
विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार कुल ३० वटा हिमाल आरोहणका लागि अनुमति जारी गरिएको छ। यस अवधिमा संकलित रोयल्टीमध्ये सबैभन्दा ठूलो हिस्सा विश्वको सर्वोच्च शिखर सगरमाथा बाट आएको छ।
सगरमाथा आरोहणका लागि ४१ वटा समूहबाट ४१० जना आरोहीले अनुमति लिएका छन्। यी आरोहीबाट मात्र ८९ करोड ३ लाख रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ। सगरमाथा चढ्न अनुमति लिनेमा ९७ जना महिला पनि रहेका छन्, जसले पर्वतारोहण क्षेत्रमा महिलाको बढ्दो सहभागिता झल्काउँछ।
अन्य हिमालतर्फ हेर्दा लोत्से आरोहणका लागि ७ समूहका ८६ जना, अमादब्लम मा ८ समूहका ९२ जना, मकालु प्रथम मा ५४ जना तथा हिमलुङ हिमालका लागि ५ समूहबाट ४४ जनाले अनुमति लिएका छन्।
देशअनुसारको विवरणमा चीनबाट सबैभन्दा धेरै १२७ जना आरोहीले अनुमति लिएका छन् भने अमेरिकाबाट १००, बेलायतबाट ६४, रुसबाट ६० र अष्ट्रेलियाबाट २२ जना सहभागी भएका छन्।
पर्यटन क्षेत्रका जानकारहरूका अनुसार यस वर्षको बसन्त सिजनमा देखिएको यो सक्रियता नेपालका हिमालहरू अन्तर्राष्ट्रिय स्तरमा अझै आकर्षणको केन्द्र बनेको पुष्टि हो। साथै, पर्वतारोहणबाट प्राप्त हुने राजस्वले मुलुकको पर्यटन अर्थतन्त्रलाई महत्वपूर्ण टेवा पुर्याइरहेको छ ।
