भक्तपुरका नेवार समुदायले ‘साँःपारु’ मनाउँदै, यस्तो छ परम्परा

टुरिजमफेस
भक्तपुर । वर्ष दिनमा मृत्यु भएका आत्माको मोक्ष प्राप्तिको प्रार्थना गर्दै ख्यालठट्टा, हाँस्यव्यङङ्ग्यसहित भक्तपुरका नेवार समुदायले आज धुमधामका साःँपारु (गाईजात्रा) पर्व मनाइँदैछ ।
भिन्न र मौलिक शैलीमा मनाइने भक्तपुरको गाईजात्रालाई आँसु र हाँसोको सङ्गम जात्राका साथै दुःख, पीडा, शोकलाई हाँसोमा परिवर्तन गर्ने जात्राको सन्देश दिने पर्वका रूपमा लिइन्छ ।
यस दिन साँ (गाई) निकाल्दा आफन्तजन मृतकको सम्झनामा रुने परम्परा छ । अर्कातर्फ ख्यालठट्टा, हाँस्यव्यङ्ग्य, धार्मिक तथा सांस्कृति रूपमा अत्यन्त महत्त्वपूर्ण मानिने शिव पार्वती, भैरव, देवी, राधाकृष्ण, रामायणलगायत नाचसहित नगर परिक्रमा गरी साँःपारु मनाइन्छ । त्यसैले उपत्यकालगायत बाहिरी जिल्ला र विदेशीहरू गाईजात्रा हेर्न हजारौँका सङ्ख्यामा दर्शकहरु आउने गर्छन् ।
जनैपूर्णिमाको साँझ गुठी संस्थानले सुकुलढोकास्थित नाट्येश्वरीको पूजा गरी निकालेको घिन्ताङघिसी नाचले नगरपरिक्रमा गरेसँगै भक्तपुरमा औपचारिक रूपमा गाईजात्रा सुरु गरिन्छ ।
जनैपूर्णिमाको साँझ सुरु भए पनि सर्वसाधारणले भाद्र शुक्ल प्रतिपदाको दिन गाईजात्रा मनाइन्छ । यस दिन मृतकको सम्झनामा गाई निकाल्नुअघि सबेरै दरबार स्क्वायरस्थित तलेजु भवानीको गाई निकाल्ने परम्परा छ ।
भक्तपुरको गाईजात्राको मुख्य आकर्षण घिन्ताङघिसी हो भने अर्को आकर्षण मृतकको सम्झनामा नगरपरिक्रमा गरिने ताहासाँ (तहामचा) हो । घिन्ताङघिसीसँगै ताहासाँलाई परिक्रमा गराए मृतकलाई स्वर्गमा जाने बाटोमा भएका अप्ठ्यारो हट्ने धार्मिक विश्वास रहेको छ ।
घिन्ताङघिसी धिमे, भुस्या, खीं, धाँ बाजाको संयुक्त ताल र लयमा एकहात लामो गोलाकार लट्ठी एकापसमा जुधाएर नाचिन्छ । घिन्ताङघिसी समूहमा नाचिने नाच भएकाले जति बढी सहभागीको सङ्ख्या हुन्छ त्यति नै मनमोहक देखिन्छ । घिन्ताङघिसीमा बच्चादेखि वृद्धहरूसमेत सहभागी हुन्छन् ।
करिब १५ फिट लामो चारवटा हरियो बाँसबाट ताहासाँ बनाइन्छ । बाँसलाई ठाडो पारेर आयातकारमा बाँधेर त्यसलाई कपडाले बेरेर ताहासाँ बनाइन्छ । ताहासाँको शिरमा परालको सिङ र सिङमाथि पलेस्वाँ लप्ते (कमलको फूलको पात), चोबो (कपालजस्तो देखिने) मयुरको पङ्खा र रङ्गीचङ्गी फूलले सजाइन्छ । टाउको दुई छेउमा सिङसँगै पतचा (रङ्गीनमाथि गोलाकार तर झण्डाजस्तो देखिने) सजाइन्छ । त्यसपछि गाईको चित्र राखी द्योःगाचा (अष्टमातृकाको प्रतीक खास्तो), दुईवटा पटुका बाँधिन्छ । सिङमाथि छाता ओढाउँछन् । ताहासाँ महिला र पुरुषको सङ्केत जनाउन हाकुपटासी, सारी र सेतो कपडाले बेरेर बीचमा जामाचा लगाई अगाडि पछाडि मृतकको तस्बिर, भगवान्को तस्बिर ऐना र रुमाल राखिन्छ ।
गाईजात्रामा कुमाले समुदायले मृतकका नाममा कालोमाटोको गाई बनाएर नगरपरिक्रमा गराइन्छ । उनीहरूको आफ्नो मौलिक पुख्र्यौली पेसाअनुसार माटोको आकर्षक गाई बनाएर नगरपरिक्रमा गराइने संस्कृतिकर्मी हरिशरण राजोपाध्यले बताए । गाईजात्रामा मृतकको स्मृति झल्काउने करुण रस प्रधान गीतिलीला, रामायण र श्रीकृष्णा लीला प्रदर्शन गरिन्छ । केटाकेटीलाई आकर्षक तवरले महादेव-पार्वती, राधाकृष्णको रूपमा शृङ्गारी बाँसुरी बाजाका साथ वासा लुइके गरेर प्रदर्शन गरिन्छ ।
गाई निकाल्नुअघि ताहासाँ, डोको, राधाकृष्ण, महादेव पार्वतीलगायत मृतकको प्रतीक सङ्केत जनाउने, गाईलाई सगुन दिन मृतकको छोरीहरू र किरियापुत्रीलाई पण्डितले पूजा सङ्कल्प गराई श्राद्धकर्मको विधिविधान पूरा गरी गौदान गराइन्छ । यसबेला मृतकका घरपरिवारका महिला सदस्यहरू रुने परम्परा छ ।