पर्वतीय पर्यटनको सम्भावना देखिरहने एउटा नामः फुर्वा ग्याल्जेन शेर्पा

टुरिजमफेस
काठमाडौं । फुर्वा ग्याल्जेन शेर्पाले जीवनमा के गरेनन् ? आफ्नो जन्मस्थान खुम्बु पासाङ ल्हामु गाउँपालिका र नजिकैको लुक्लामा कालो चश्मा, ठूलो टोपी र ठूल्ठूला ब्याकप्याक बोकेर हिँड्ने पर्यटकलाई पथप्रदर्शक गर्नेदेखि आफूले हात हालेका व्यवसायलाई सफल बनाउन दैनिक १८–२० घण्टा नियमित काम गर्नु उनका लागि सामान्य हो । र, त आज उनले आफ्नो छुट्टै पहिचान बनाएका छन्, छुट्टै सम्बन्ध विस्तार गरेका छन् । देश, विदेशका सहरलाई चौतारी बनाएका छन् । अनि व्यवसायको क्षेत्रमा छुट्टै साम्राज्य खडा गरेका छन् ।
सन् १९९३ अघि ‘अरु’कै लागि काम गर्ने शेर्पासँग यतिखेर चार ओटा हेलिकप्टर भएको कम्पनी छ । आफूलाई पर्यटन क्षेत्रमा चिनाउने ट्रेकिङ व्यवसायलाई थप प्रभावकारी बनाउन स्थापना गरिएको ट्रेकिङ कम्पनीले अरुलाई सेवा र सीप मात्र दिइरहेको छैन, कम्पनी परिपक्व भइसकेको छ ।
यही क्रममा शेपाले एक ट्राभल कम्पनी र दुई होटल पनि थपेका छन् । एउटा सामान्य आमनागरिकको आँखाबाट हेर्दा उनीसँग जीवन चल्ने स्रोतको व्यवस्थापन भइसकेको छ । देश, विदेशका साथीभाइले दिनहुँ हालखबर सोधिरहेकै छन् । तर उनी यतिमै रोकिने वाला छैनन् ।
आर्थिक स्रोतका लागि भन्दा पनि उनी समाजमा केही गर्रौ भन्ने मनसायले बढी आफ्नो कर्ममा क्रियाशील भइरहँदा अझ उत्साही हुँदै यही भदौ ७ मा हुन गइरहेको नेपाल पर्वतारोहण संघको अध्यक्षमा उनले उम्मेदवारी दिएका छन् । उनको अध्यक्षमा उम्मेदवारी दिनुको एउटै उद्देश्य छ– जीवनको संघर्षमय उकालीओरालीमा सिकेका ज्ञान, गुन भावी पुस्तालाई बाँड्नु र त्यसका लागि भरपर्दो र विश्वासिलो मञ्चको आवश्यकताको अनुभूति । पर्वतारोहण संघलाई उनले यस्तै मञ्च ठानेका मात्र छैनन्, बनाउन खोजेका छन्, आफूले सोचेको बाटोमा हिँडाउन खोजेका छन् ।
‘नेपालमा पर्यटन क्षेत्रको विकास अझ भनौ पर्वतीय पर्यटनको विकासका लागि लामो समयदेखिको योगदानसँगै ज्ञान र सीप सिक्ने अवसर पनि पाइयो, ‘टुरिजमफेससँग अनुभव साट्दै शेर्पाले भने, ‘लामो प्रयास र मेहनतले सिकेको पर्यटन सम्बन्धी ज्ञान र सीप भावी पुस्तालाई हस्तान्तरण गर्न पाइयोस् भनेर यसपटक पर्वतारोहण संघको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हुँ । आशा छ मेरो उद्देश्यलाई सबै साथीहरूले सही ढंगमा बुझिदिनु हुनेछ ।’
त्यसो त शेर्पाको परिचय सामाजिक अभियन्ताको रूपमा पनि रहेको छ । आफ्नो गृह जिल्ला सोलुखम्बुमा अस्पताल निर्माण गर्नेदेखि आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई सहयोग, बाटाघाटा निर्माणमा योगदान, शैक्षिक संस्थाहरूलाई सहयोग गर्र्नेलगायतका विभिन्न काममा उनी निरन्तर जोडिँदै आएका छन् । उनी भन्छन्, ‘जीवनमा पैसा कमाउने भन्दा पनि अप्ठेरो परेकालाई सहयोग गर्न पाउँदा बढी खुशी लाग्दो रहेछ ।’ उनले आफ्नो कुल आम्दानीको २५–३० प्रतिशत रकम सामाजिक कार्यमा लगाउँदै आएको बताए ।
राज्यले पर्यटन क्षेत्रलाई चिन्न सकेन
नेपालको सबभन्दा सम्भावनाको क्षेत्र पर्यटन भए पनि राज्यले पर्यटन क्षेत्रलाई अझै चिन्न नसकेको उनको अहिलेसम्मको निष्कर्ष छ । ‘मेरो ५० वर्षदेखिको अनुभवको आधारमा कुरा गर्ने हो भने नेपालले पर्यटन क्षेत्रबाट प्रशस्त लाभ लिन सक्छ,’ उनी भन्छन्, ‘तर जति सम्भावना छ त्यस अनुसार लाभ लिन सकिएको छैन, राज्यले पर्यटनको महत्व नै बुझ्न सकेको छैन ।’ निजी क्षेत्र र त्यसमा पनि केही व्यक्तिले मात्र पर्यटनको महत्व र सम्भावना बुझेको र सोही बुझाइले अहिलेसम्म टिकाइरहेको उनी ठान्छन् ।
पर्यटन क्षेत्रलाई विकास गर्ने हो भने किसानदेखि गाडी निर्माण गर्ने कम्पनीसम्मलाई प्रत्यक्ष लाभ पुग्ने उनको भनाइ छ । ‘एउटा पर्यटक नेपाल आउँदा किसानको उत्पादन बिक्री हुनेदेखि गाडी, ट्याक्सी, हवाई कम्पनीले पनि काम पाउँछन्,’ उनी भन्छन्, ‘त्यसैले पर्यटन यस्तो क्षेत्र हो, जसले समाजमा चौतर्फी प्रभाव पारेको हुन्छ । सबैलाई एकै साथ उठाइरहेको हुन्छ ।’ यसका बाबजुद पनि विदेशीले भने नेपाल र नेपालीलाई पत्याइरहेको उनी ठान्छन् । ‘नेपालीहरू इमान्दार भएर पनि होला विदेशीले अहिलेसम्म खासगरी पर्वतीय क्षेत्रमा बसोबास गर्ने नेपालीलाई पत्याइरहेका छन् ।’
त्यस्तै उनले नेपालको पर्यटन क्षेत्रको विकासका लागि गुणस्तरीय शिक्षाको पनि उत्तिकै आवश्यकता देखेका छन् । शिक्षित युवा पर्यटन क्षेत्रमा आउने र आउने वातावरण बनाउने हो भने पर्यटन क्षेत्रको छिट्टै विकास हुने शेर्पाको विश्वास छ ।
Video link: