पर्यटक आगमनमा उल्लेख्य सुधार, गत वर्षको तुलनामा २२ प्रतिशतले वृद्धि

टुरिजमफेस
काठमाडौं । सन् २०२५ को अगस्तमा ८८ हजार ६८० पर्यटक नेपाल घुम्न आएका छन् । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२ प्रतिशतले बढी हो । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार अगस्तमा सबभन्दा बढी भारतबाट ३५ हजार ५०५ पर्यटक नेपालमा घुम्नका लागि आएका छन् । जुन संख्या अगस्तमा नेपाल घुम्न आएका कुल पर्यटकमध्ये करिब ४० प्रतिशत हो ।
त्यस्तै सन् २०२५ को अगस्तमा चीनबाट ७ हजार ५३३ अर्थात ८.५ प्रतिशत, अमेरिकाबाट ६ हजार ६८ अर्थात ६.८ प्रतिशत, श्रीलंकाबाट ५ हजार ९५६ अर्थात ६.७ प्रतिशत र बंगलादेशबाट ४ हजार २६२ अर्थात् ४.८ प्रतिशत पर्यटक नेपाल आएको बोर्डले जनाएको छ ।
सन् २०२५ को जनवरीदेखि अगस्तसम्म ८ महिनाको अवधिमा सात लाख ३६ हजार ५६२ पर्यटक भित्रिएका छन् । क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली (सार्क) मुलुकबाट ४७ हजार १३७ पर्यटक अर्थात ५३ प्रतिशत पर्यटक नेपाल आएका छन् भने एसियाका अन्य मुलुकका १५ हजार ७७७ अर्थात् १७.८ प्रतिशत, युरोपबाट ११ हजार १३२ अर्थात १२.६ प्रतिशत र ओसनियाबाट २ हजार ४३५ अर्थात २.७ प्रतिशत पर्यटक भित्रिएका छन् ।
त्यस्तै अमेरिकाबाट ७ हजार २९३ अर्थात ८.२ प्रतिशत, मध्यपूर्वबाट ९४४ अर्थात १.१ प्रतिशत, अफ्रिकाबाट ३२२ अर्थात ०.४ प्रतिशत र अन्य मुलुकबाट ३ हजार ६४० अर्थात ४.१ प्रतिशत पर्यटक आगमन भएको छ । सन् २०२५ को जुलाईमा ७० हजार १९३ पर्यटक भित्रिएका थिए ।