मुस्ताङको लक्जरी रिसोर्ट शिन्तामणीको ९ महिनामा १३.६ करोड आम्दानी, ऋणभार पनि घट्यो
काठमाडौं । मुस्ताङको मार्फामा सञ्चालनमा रहेको देशकै महँगा लक्जरी रिसोर्टमध्ये एक शिन्तामणी मुस्ताङले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा १३ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ।
रिसोर्ट सञ्चालन गर्ने मुस्ताङ माउन्टेन होमका अनुसार गत आर्थिक वर्षमा कम्पनीको कुल कारोबार १५ करोड रुपैयाँ पुगेको थियो। त्यसअघि सन् २०२४ मा ७ करोड ६० लाख रुपैयाँ र सन् २०२३ मा १ करोड ८० लाख रुपैयाँ आम्दानी भएको थियो। सन् २०१४ मा स्थापना भएको कम्पनी सन् २०२३ मा सार्वजनिक कम्पनीमा रूपान्तरण भएको हो।
मार्फास्थित ३५ हजार १०३ वर्गमिटर क्षेत्रफलमा फैलिएको शिन्तामणी मुस्ताङमा २९ वटा लक्जरी सुइट रहेका छन्। करिब १ अर्ब १६ करोड ८० लाख रुपैयाँको लगानीमा निर्माण भएको रिसोर्टले सन् २०२२ को मार्चदेखि व्यावसायिक सेवा सुरु गरेको हो। यहाँ आवाससँगै रेस्टुरेन्ट, स्पा, सम्मेलन हललगायत सुविधा उपलब्ध छन्।
अन्तर्राष्ट्रिय होटल व्यवस्थापन कम्पनीसँगको सहकार्यपछि सन् २०२३ को अन्त्यदेखि रिसोर्ट पूर्ण क्षमतामा सञ्चालनमा आएको कम्पनीले जनाएको छ।
वित्तीय अवस्थातर्फ हेर्दा कम्पनीको दीर्घकालीन ऋण ९० करोड ९० लाख रुपैयाँबाट घटेर ७५ करोड २० लाख रुपैयाँमा झरेको छ। लगानीकर्ताबाट थप २० करोड रुपैयाँ इक्विटी भित्रिएपछि ऋणभार कम गर्न सहयोग पुगेको कम्पनीको भनाइ छ।
त्यस्तै, कम्पनीको ब्याज तिर्ने क्षमता (इण्ट्रेस्ट कभरेज रेसियो) पनि सुधार हुँदै ०.११ गुणाबाट ०.७५ गुणा पुगेको छ। अध्यक्ष लाक्पा सोनाम शेर्पा नेतृत्वको कम्पनीले दीर्घकालीन कर्जाका लागि ७२ करोड ७ लाख रुपैयाँ बराबरको क्रेडिट रेटिङ गराएको छ।
यति ग्रुप अफ कम्पनीज अन्तर्गत सञ्चालनमा रहेको शिन्तामणी मुस्ताङ नेपालकै सबैभन्दा महँगा रिसोर्टमध्ये पर्छ। यहाँ बस्न न्यूनतम १,७०० अमेरिकी डलर (करिब २ लाख ५८ हजार रुपैयाँ) खर्च गर्नुपर्छ भने कम्तीमा पाँच रातको प्याकेज अनिवार्य गरिएको छ।
