नयाँ बसपार्कको कायापलट : व्यवस्थित सेवासँगै यात्रुको भरोसा बढ्दै
काठमाडौं। एक समय अव्यवस्था, फोहोर, धुलो र भीडभाडका कारण आलोचित रहने काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्क अहिले क्रमशः व्यवस्थित र आधुनिक सार्वजनिक यातायात केन्द्रका रूपमा विकास हुँदै गएको छ। नियमित सरसफाइ, पूर्वाधार विस्तार, डिजिटल टिकटिङ र सुरक्षा व्यवस्थामा सुधार आएपछि यात्रु तथा यातायात व्यवसायी दुवैले सकारात्मक परिवर्तन अनुभव गर्न थालेका छन्।
काठमाडौं महानगरपालिका–२६ अन्तर्गत विष्णुमती किनारमा फैलिएको १६१ रोपनी क्षेत्रफलको नयाँ बसपार्क लामो दूरीका सार्वजनिक सवारीको प्रमुख केन्द्र हो। यहाँ पहिले देखिने फोहोरका थुप्रा, अस्थायी टहरा र अव्यवस्थित टिकट बिक्री गर्ने बिचौलियाको प्रभाव अहिले निकै घटेको छ। बसहरू व्यवस्थित रूपमा पार्किङ गरिने, टिकट काउन्टर सञ्चालन हुने तथा यात्रुलाई सहज सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ।
जापान अन्तरराष्ट्रिय सहयोग निकाय (जाइका) को प्राविधिक सहयोग र काठमाडौं महानगरपालिकाको पहलमा निर्माण गरिएको यो बसपार्क सार्वजनिक–निजी साझेदारी (PPP) अवधारणाअनुसार सञ्चालन हुँदै आएको छ। २०७१ सालदेखि इन्जिनियर दीपक कुँवरको नेतृत्वमा व्यवस्थापन सम्हालिएपछि बसपार्कको स्वरूप परिवर्तनतर्फ उल्लेखनीय काम भएको व्यवस्थापन पक्षको दाबी छ।
सुरुमा करिब ४५० सवारीसाधन अट्ने क्षमता रहेको बसपार्कलाई स्तरोन्नति गरेर अहिले एकैपटक करिब ८०० सवारीसाधन पार्किङ गर्न सक्ने बनाइएको छ। बसपार्कभित्र व्यवस्थित टिकट काउन्टर, इन्धन स्टेशन, अपाङ्गमैत्री शौचालय, विश्रामस्थल, खाजा घर, व्यापारिक भवन तथा निःशुल्क इन्टरनेट सेवासमेत सञ्चालनमा छन्।
हरियाली प्रवर्द्धनका लागि विभिन्न प्रजातिका बिरुवा रोपिएका छन् भने बसपार्कको सुरक्षा मजबुत बनाउन नेपाल प्रहरी र ट्राफिक प्रहरीको स्थायी उपस्थिति रहेको छ। दैनिक करिब ५० जना सरसफाइकर्मीले बसपार्क सफा राख्ने जिम्मेवारी निर्वाह गरिरहेका छन्।
व्यवस्थापनका क्रममा आफूहरूले भूकम्प, नाकाबन्दी र कोरोना महामारीजस्ता चुनौती सामना गर्नुपरे पनि सेवा सुधारलाई निरन्तरता दिएको इन्जिनियर कुँवर बताउँछन्। उनका अनुसार ती संकटहरू नभएको भए पूर्वाधार विकास अझ तीव्र गतिमा अघि बढ्न सक्थ्यो।
बसपार्क सञ्चालनबाट काठमाडौं महानगरपालिकाले वार्षिक करोडौँ रुपैयाँ राजस्व संकलन गर्दै आएको छ। सम्झौताअनुसार निजी क्षेत्रले निर्माण गरेका संरचना सम्झौता अवधि समाप्त भएपछि महानगरपालिकालाई हस्तान्तरण गरिने व्यवस्था छ।
यात्रु सेवामा सुधार ल्याउन पछिल्लो समय कम्प्युटराइज्ड तथा अनलाइन टिकटिङ प्रणाली विस्तार गरिएको छ। विशेषगरी पूर्वी नेपालका रुटमा सञ्चालन हुने धेरै बसमा अनलाइनमार्फत अग्रिम टिकट बुकिङ गर्न सकिने व्यवस्था लागू गरिएको छ। यसले यात्रु ठगिने सम्भावना घटाएको र घरमै बसेर टिकट सुरक्षित गर्न सकिने सुविधा दिएको व्यवसायीहरू बताउँछन्।
हाल नयाँ बसपार्कबाट दैनिक ३५० देखि ४०० सार्वजनिक बस सञ्चालन हुने गरेका छन् भने करिब १० हजारभन्दा बढी यात्रुले सेवा लिने गरेका छन्। देशका ६० भन्दा बढी जिल्लासँग राजधानीलाई जोड्ने मुख्य यातायात केन्द्रका रूपमा यसको भूमिका अझ सुदृढ बन्दै गएको छ।
बसपार्क सञ्चालनसँगै गोँगबु, टोखा र माछापोखरी आसपासको आर्थिक गतिविधिमा पनि उल्लेखनीय वृद्धि भएको छ। होटल, रेष्टुराँ, लज तथा अन्य व्यवसाय विस्तार हुँदा हजारौँले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन्।
यद्यपि, सार्वजनिक सवारीसाधनको संख्या निरन्तर बढ्दै जाँदा बसपार्कको क्षमता विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ। यातायात व्यवसायीहरूका अनुसार भविष्यको मागलाई ध्यानमा राख्दै पूर्वाधार थप विस्तार र आधुनिक व्यवस्थापन प्रणालीलाई अझ प्रभावकारी बनाउनु आवश्यक छ।
पछिल्लो समय काठमाडौं महानगरपालिकाले राजधानीका विभिन्न स्थानबाट छुट्ने लामो दूरीका बसलाई क्रमशः नयाँ बसपार्कबाट सञ्चालन गर्ने नीति अघि बढाएको छ। यसले यातायात सेवा थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।
