‘ह्विट्ली अवार्ड’को रकम लाटोकोसेरो संरक्षणमा

टुरिजमफेस
गण्डकी । प्रकृतिका साथीहरू संस्थाका निर्देशक राजुु आचार्यले गत वर्ष बेलायतमा प्राप्त गर्नुुभएको विश्व प्रसिद्ध ‘ह्विट्ली अवार्ड’ गण्डकी प्रदेशमा लाटोकोसेरोको संरक्षणका लागि बरदान साबित बन्दै गएको छ ।
व्यक्तिगत रुपमा प्रदान गरिने उक्त अवार्डबापतको रकम संस्थागत रुपमा उपयोग हुनुपर्ने प्रावधानअनुरुप प्रकृतिका साथीहरूलाई नेपालको लाटोकोसेरो संरक्षण परियोजनाका लागि ह्विट्ली फन्ड फर नेचरले ५० हजार पाउन्ड सहयोग प्रदान गरिएको थियो ।
संस्थाका निर्देशक संरक्षणकर्मी आचार्यलाई बेलायती राजकुमारी एनले गत वर्ष लन्डनमा उक्त अवार्डबाट पुरस्कृत गरेका थिए । प्रदेशभित्र सम्बन्धित जिल्लाका डिभिजन वन कार्यालय र वडा कार्यालय, सामुदायिक वन उपभोक्ता समितिको सहकार्यमा परियोजनाअन्तर्गतका काम गरिएको हो ।
परियोजनाको सुरुआतमा केशवराज सापकोटा, सुदर्शन पराजुली, ज्योति शर्मा, दीपा गुरुङ, आयुष ढुङ्गाना र बालकुमार गुरुङलाई लाटोकोसेरो संरक्षणदूत बनाइएको थियो । उनीहरूलाई संस्थाले तालिम दिएर संरक्षण कार्यमा खटाएको थियो । उक्त परियोजनामा संरक्षणदूतसहित प्रकृतिका साथीहरूका निर्देशक राजुु आचार्य, केशव दाहाल, सुमन सापकोटा, सङ्गम पौडेल र अनु पौडेलसहित ११ जना खटिएका थिए ।
उक्त अवार्डबापतको रकमलाई गुलेली नियन्त्रण, बुढा रूखको संरक्षण, कृत्रिम गुँडको वितरण तथा लाटोकोसेरोको अवैध चोरी–सिकारी नियन्त्रण आदिमा उपयोग गरिएको निर्देशक आचार्यले जानकारी दिए । परियोजनाअन्तर्गत गत वर्ष भदौबाट कास्कीमा ८९, स्याङ्जामा सात, म्याग्दी र बागलुङमा दुुई÷दुुई गरी एक सय कृत्रिम गुँड राखिएको छ । संस्थाले परीक्षणका लागि गुँडको गतिविधि नियाल्न एउटा गुँडको भित्र र बाहिर सिसिटिभी क्यामरा पनि जडान गरेको छ । राखिएका गुँडमध्ये सातवटा गुँडमा लाटोकोसेरोले बास बनाएको छभने ४८ वटामा चिवे, धोबिनी, डाँग्रे, परेवा, खोले कल्चौडो चरा बसेका छन् । लाटोकोसेरोले आफैँ गुँड नबनाउने र अरू चराले बनाएकामा बस्ने भएकाले यसको संरक्षणमा कृत्रिम गुँड फलदायी हुने आचार्यको विश्वास छ ।
नेपालमा लाटोकोसेरोको अस्तित्व गम्भीर सङ्कटमा परेको बताउँदै आचार्यले लाटोकोसेरोको अवैध शिकार, व्यापार, मिथक विश्वास, गुलेली प्रयोग र पुराना रुखको विनाशका कारण हरेक वर्ष करिब एक हजार ५०० लाटोकोसेरो मर्ने तथा व्यापार हुने गरेको पाइएको जानकारी दिए । यही तथ्याङ्कलाई दृष्टिगत गर्दै समुदाय, विद्यालय र सरकारी निकायहरूको सहकार्यमा पाँच सामुदायिक वनलाई गुलेली–मुक्त र तीन सामुदायिक वनलाई लाटोकोसेरो संरक्षण क्षेत्र घोषणा गरिएको छ ।