पाकिस्तानको आक्रमणमा ४०० अफगानीको मृत्यु
काठमाडौं । पाकिस्तानले सोमबार राति अफगानिस्तानमा पुनः हवाई आक्रमण गरेको खबर सार्वजनिक भएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी वायुसेनाले राजधानी काबुलका विभिन्न क्षेत्रमा बमबारी गरेको बताइएको छ, जसमा करिब ४०० जनाको ज्यान गएको र २५० भन्दा बढी घाइते भएको उल्लेख गरिएको छ।
रिपोर्टहरूमा दारुल अमान, अर्जन किमात, खैरखाना लगायत काबुल अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा विस्फोट र गोलीबारीको आवाज सुनिएको जनाइएको छ। तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले काबुलस्थित लागुऔषध पुनर्स्थापना अस्पताललाई समेत निशाना बनाएको आरोप लगाएका छन्। सार्वजनिक भिडियोहरूमा सुरक्षाकर्मीहरूले अँध्यारोमा टर्चको सहायताले घाइते र मृतक उद्धार गरिरहेको तथा दमकल टोलीले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेको देखिन्छ।
अफगान पक्षले नागरिक संरचना र स्वास्थ्य संस्थामाथि आक्रमण गरिएको भन्दै पाकिस्तानको कडा आलोचना गरेको छ र यसलाई मानवताविरुद्धको कार्य भनेको छ। तर पाकिस्तानले भने अस्पताल लक्षित गरिएको आरोप अस्वीकार गर्दै आफ्नो कारबाही सैन्य लक्ष्यमा मात्र केन्द्रित रहेको दाबी गरेको छ। प्रधानमन्त्री शेहबाज शरीफका प्रवक्ता मोशर्रफ जैदीले नागरिक संरचनामा क्षति नपुर्याउने गरी आक्रमण गरिएको बताएका छन्।
पाकिस्तानको सूचना मन्त्रालयले जारी गरेको वक्तव्यमा उक्त हवाई कारबाही आतंकवादी संरचना, हतियार भण्डारण स्थल र प्राविधिक पूर्वाधारलाई लक्षित गरी गरिएको दाबी गरिएको छ। उता, संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले अफगानिस्तानका तालिबान नेतृत्वलाई आतंकवादविरुद्धका प्रयास तीव्र बनाउन आग्रह गर्दै सबै प्रकारका आतंकी गतिविधिको निन्दा गरेको छ। एजेन्सीको सहयोगमा
