काभ्रेमा कृषि-पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुन्तला-हाइकिङ’ कार्यक्रम सञ्चालन
टुरिजमफेस
काभ्रेपलाञ्चोक । कृषि तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुन्तला–हाइकिङ’ कार्यक्रम सञ्चालन गर्न लागिएको छ । विभिन्न निकाय तथा सङ्घ–संस्थाको आयोजनामा यसपटक परीक्षण र प्रवर्द्धनका रूपमा कार्यक्रम सञ्चालन गर्न लागिएको जनाइएको छ ।
होटल एसोसिएसन अफ नेपाल (हान) काभ्रेपलाञ्चोक च्याप्टरको आयोजना र धुलिखेल नगरपालिका पर्यटन परिषद्को विशेष सहयोगमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । यसमा जिल्लास्थित नेपाल युवा उद्यमी मञ्च र रोटरी क्लब अफ धुलिखेलले सहकार्य गर्ने जनाइएको छ ।
यस्तै कार्यक्रम १५ वर्षअघि पनि सञ्चालन गरिएको थियो । त्यो कार्यक्रम केही वर्षपछि सुस्ताएको थियो । हानका जिल्लाध्यक्ष प्रह्लाद प्याकुरेलले उक्त कार्यक्रमलाई पुनः सञ्चालन गर्न लागिएको बताए । उनले जिल्लाको कृषि र पर्यटनलाई जोड्ने उद्देश्यका साथ डेढ दशकपछि ‘सुन्तला–हाइकिङ’ कार्यक्रम पुनः सञ्चालनमा ल्याइने बताए ।
डेढ दशकअघि सन् २०१० को नोभेम्बरमा नेपाल पर्यावरण तथा पर्यटन जागरण आधारशीला (नेटिफ) ले नेपाल पर्यटन बोर्डको सहयोगमा नमोबुद्ध–बल्थली ‘सुन्तला–हाइकिङ’ कार्यक्रम आयोजना गरेको थियो । यसपटक पाँच वर्षपछि भएको हान काभ्रेपलाञ्चोक च्याप्टरको अधिवेशनसँगै कार्यक्रम ब्यँुत्याइएको जनाइएको छ । जिल्लामा सुन्तलाखेतीको प्रचुर सम्भावना रहेकाले यसै सिजनमा नयाँ स्वरुपमा कार्यक्रम ब्युँत्याइने धुलिखेलस्थित होटल सारथीका प्रबन्ध निर्देशकसमेत रहेका प्याकुरेलले बताए । क्रिसमसको दिन पारेर बिहीबार औपचारिक रूपमा कार्यक्रम सञ्चालनमा ल्याइने उनले जानकारी दिए ।
कार्यक्रमअन्तर्गत पदयात्रा मुख्यतया जिल्लाको पर्यटकीय क्षेत्र नमोबुद्धबाट बल्थलीसम्म ‘रुट’ तय गरिएको छ । पदयात्रीले पहेँलपुर सुन्तला बगैँचाको दृश्यावलोकन गर्दै यात्रा गर्न पाउनेछन् । साथै स्थानीय बगैँचाका बोटबाटै ताजा सुन्तलासमेत खान पाउनेछन् ।
