नेपाल ‘सुन्दर गन्तव्य’ मात्रै होइन, ‘सजिलो यात्रा देश’ नबन्दा पर्यटन अड्किएको व्यवसायीको निष्कर्ष
काठमाडौं । हिमाल, संस्कृति र साहसिक पर्यटनले विश्वलाई आकर्षित गरे पनि नेपाल अझै पर्यटकका लागि “जटिल देश” बनेको पर्यटन व्यवसायीहरूको निष्कर्ष छ। उनीहरूका अनुसार अव्यवस्थित पूर्वाधार, झन्झटिलो भिसा प्रक्रिया, उच्च करदर र कमजोर अन्तर्राष्ट्रिय कनेक्टिभिटीले नेपाललाई सहज गन्तव्य बन्न नदिएको हो।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्सी (नाट्टा) को ५८औँ वार्षिक कार्यक्रममा व्यवसायीहरूले सरकारको ध्यान गन्तव्यको गुणस्तरभन्दा पनि यात्राको सहजता तर्फ केन्द्रित हुनुपर्ने बताएका छन्।
नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले भने, “नेपाल ‘बेटर डेस्टिनेसन’ त छ, तर पर्यटकका लागि ‘इजी डेस्टिनेसन’ छैन। आजको प्रतिस्पर्धी पर्यटन बजारमा सहज भिसा, छरितो प्रशासन र सस्तो सञ्चालन खर्च बिना गन्तव्य टिक्न सक्दैन।”
उनका अनुसार पर्यटक नेपाल आउन चाहन्छन्, तर प्रवेश प्रक्रिया, आन्तरिक यात्रा र सेवा प्रणालीले उनीहरूलाई हतोत्साहित गर्छ। “एयरपोर्टदेखि होटलसम्मको अनुभव सहज नभएसम्म राम्रो प्रचारले मात्र काम गर्दैन,” उनले स्पष्ट पारे।
समस्या चार तहमा, समाधान सहकार्यमा
अध्यक्ष थपलियाले पर्यटन क्षेत्रमा देखिएका चुनौतीलाई चार मुख्य क्षेत्रमा वर्गीकरण गरे—
भिसा र प्रवेश प्रक्रिया, व्यवसाय सञ्चालन, अन्तर्राष्ट्रिय बजारमा नेपालको छवि, र पूर्वाधार तथा यातायात।
उनका अनुसार भिसा प्रक्रिया सरल बनाउने, कर र प्रशासनिक झन्झट घटाउने, अन्तर्राष्ट्रिय उडान विस्तार गर्ने र गन्तव्यसम्म पुग्ने सडक तथा यातायात सुधार नगरी पर्यटनमा गुणात्मक फड्को सम्भव छैन।
कार्यक्रममा सहभागी बागमती प्रदेशका पर्यटनमन्त्री सुरेश श्रेष्ठ तथा संघीय सरकारका उच्च अधिकारीहरूसँग संवाद गर्दै थपलियाले निजी क्षेत्र, सरकार र अन्तर्राष्ट्रिय साझेदारबीच समन्वय र दीर्घकालीन सोच आवश्यक रहेको बताए।
‘अनुभवमैत्री पर्यटन’को खाँचो
काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक अच्युत वाग्लेले नेपालको पर्यटन अब केवल आगमन संख्यामा सीमित नराखी अनुभवमैत्री, पहुँचयोग्य र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए। नाट्टाजस्ता संस्थाको सक्रियताले पर्यटनलाई दीगो दिशामा लैजान सहयोग पुग्ने उनको भनाइ थियो।
व्यवसायीहरूका अनुसार अब प्रश्न नेपाल सुन्दर छ कि छैन भन्ने होइन, नेपाल घुम्न कति सजिलो छ ? भन्ने हो। यही प्रश्नको जवाफले नेपालको पर्यटन भविष्य तय गर्ने उनीहरूको ठम्याइ छ।
