बाघ बढेसँगै बाँकेमा जंगल सफारीको आकर्षण चुलियो
नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या उल्लेख्य रूपमा बढेपछि यस क्षेत्रको पर्यटन सम्भावना थप उजागर भएको छ। राष्ट्रिय बाघ सर्वेक्षण २०८२ अनुसार निकुञ्जमा बाघको संख्या २५ बाट बढेर ५१ पुगेको छ, जसले बाँकेलाई वन्यजन्तु अवलोकनका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
निकुञ्ज प्रशासनका अनुसार बाघको संख्या वृद्धि संरक्षण प्रयासको सफलतामात्र नभई प्रकृतिमा आधारित पर्यटन विस्तारको अवसर पनि हो। बाघसँगै हात्ती, चित्तल, नीलगाई, विभिन्न चराचुरुङ्गी तथा अन्य वन्यजन्तुको सहज अवलोकन गर्न सकिने भएकाले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने विश्वास गरिएको छ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले घाँसे मैदान व्यवस्थापन, वन्यजन्तुका लागि पानीको उपलब्धता तथा चोरी शिकारी नियन्त्रणका प्रयासले सकारात्मक परिणाम दिएको बताए। चुरे क्षेत्रबाट पानी ल्याउने र सौर्य ऊर्जामार्फत कृत्रिम पोखरी निर्माण गर्ने कामले वन्यजन्तुको बासस्थानलाई थप अनुकूल बनाएको उनको भनाइ छ।
बाघको संख्या बढेसँगै मानव–वन्यजन्तु द्वन्द्वको चुनौती पनि बढेको निकुञ्जले स्वीकार गरेको छ। तथापि स्थानीय समुदाय, संरक्षणकर्मी र सरकारी निकायबीचको सहकार्यबाट संरक्षण र पर्यटनलाई सन्तुलित रूपमा अघि बढाउन सकिने विश्वास व्यक्त गरिएको छ।
सन् २०१३ मा चार वटा मात्र बाघ रहेको बाँकेमा २०१८ मा २१ पुगेको संख्या अहिले ५१ पुगेको हो। यसले निकुञ्जलाई नेपालका महत्वपूर्ण बाघ संरक्षण क्षेत्रमध्ये एक बनाएको छ।
५५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बाँके राष्ट्रिय निकुञ्ज जैविक विविधताका हिसाबले पनि समृद्ध मानिन्छ। यहाँ ३०० भन्दा बढी प्रजातिका चराचुरुङ्गी, ३२ प्रजातिका स्तनधारी, ५८ प्रजातिका माछा तथा दुर्लभ वन्यजन्तु पाइन्छन्। संरक्षणको सफलतासँगै जंगल सफारी, वन्यजन्तु फोटोग्राफी र प्रकृतिमा आधारित पर्यटन गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ।
पर्यटन व्यवसायीहरूका अनुसार बाघको संख्या वृद्धिले बाँकेलाई चितवन र बर्दियापछिको अर्को प्रमुख वन्यजन्तु पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने सम्भावना बलियो बनेको छ।
