रहर होइन, बाध्यता : मेचीनगरकी सीताको परदेशी जीवनको तितो–मिठो कथा
झापा — परदेश जाने निर्णय कसैले सजिलै गर्दैन। ऋणले घाँटी समातेको, गरिबीले ढोका थुनेको र सन्तानको भविष्यले मन पोलिरहेको बेला मात्रै मान्छे आफ्नै माटो छोड्न बाध्य हुन्छ। मेचीनगर–८ की सीता थापामगरको जीवन त्यही बाध्यताको यात्राको जिउँदो दस्तावेज हो।
१६ वर्षको उमेरमा विवाह गरेकी सीताले २५ वर्ष नपुग्दै श्रीमान् गुमाइन्। उपचारका लागि लागेको ऋण, काखमा स–साना दुई सन्तान, घरको जिम्मेवारी—सबै एकैपटक उनको काँधमा आइपुग्यो। नेपालमै मजदुरी गरेर ऋण तिर्ने र परिवार धान्ने सम्भावना न्यून देखिएपछि उनले परदेशिने कठोर निर्णय गरिन्।
२०६२ सालतिर भिजिट भिसामा भारत हुँदै उनी कुबेत पुगिन्। करिब २० हजार रुपैयाँ जोहो गर्नै ठूलो सङ्घर्ष थियो। कुबेतमा घरेलु कामदारको रूपमा काम सुरु गरिन्। बिहानदेखि रातिसम्मको निरन्तर काम, भाषाको समस्या, आरामको अभाव र साहुको कडा व्यवहार—सबै सहँदै उनले चार वर्ष बिताइन्। मासिक आठ हजार जति आम्दानी हुन्थ्यो, तर त्यही पसिनाले उनले श्रीमान्को उपचारको ऋण तिरिन्।
नेपाल फर्किँदा उनले सोचेकी थिइन्—अब परिवारसँगै बस्ने। तर छोराछोरी हुर्कँदै जाँदा खर्च बढ्दै गयो। फेरि आर्थिक चाप बढ्यो। यसपटक उनले कानुनी प्रक्रियाबाट मेनपावरमार्फत २०६८ सालमा लेबनान जाने निर्णय गरिन्। करिब ६० हजार खर्च गरेर पुगेकी उनी त्यहाँ एक वृद्ध आमाको हेरचाहमा खटिइन्। काम सहज थियो, मासिक १५ हजार जति कमाइ हुन्थ्यो। जीवन केही स्थिर हुँदै थियो।
तर नियतिले फेरि निर्मम प्रहार गर्यो। लेबनानमै हुँदा नेपालबाट आयो—उनका किशोर छोराको असामयिक निधनको खबर। परदेशी भूमिमा बसेर सन्तान गुमाउनु उनको जीवनकै सबैभन्दा गहिरो घाउ बन्यो। उनले सबै काम छोडेर स्वदेश फर्किइन्।
शोक र जिम्मेवारीबीच दुई वर्ष बिते। तर आर्थिक अभाव फेरि उस्तै। त्यसपछि उनी साउदी अरब गइन्। अस्पतालमा क्लिनरको काम—लामो समय उभिएर, निरन्तर शारीरिक श्रम। पाँच वर्षसम्म परिवारका लागि पसिना बगाउँदा आफ्नै स्वास्थ्यतर्फ ध्यान दिन सकिनन्। घाँटीमा समस्या देखापर्यो। साउदीमै उपचार गराइन्, सुधार भएन।
अन्ततः नेपाल फर्किएर चितवनको भरतपुर क्यान्सर अस्पतालमा जाँच गराउँदा दोस्रो चरणको घाँटीको क्यान्सर पुष्टि भयो। जीवनले फेरि अर्को परीक्षा लियो। उपचारमा हालसम्म १४ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। बचत, ऋण र आफन्तको सहयोगमा उनले उपचार जारी राखिन्। अन्ततः लामो सङ्घर्षपछि क्यान्सरमाथि विजय पाइन्, तर आर्थिक भार अझै कम भएको छैन।
पछि मात्र उनलाई वैदेशिक रोजगार बोर्डबाट गम्भीर बिरामी उपचार सहयोग पाइने जानकारी भयो—तर समयसीमा सकिइसकेको थियो। “यो जानकारी समयमै पाएको भए…” भन्ने अधुरो वाक्य आज पनि उनको मनमा घुम्छ। यद्यपि, म्यादी बीमाबाट केही राहत भने पाइन्।
अहिले सीता मेचीनगर–८ मै दुई कट्ठा जमिनमा बनेको सानो घरमा बस्छिन्। कान्छी छोरी रोजगारीका लागि युएईमा छिन्, उनैको आम्दानीले घर चलिरहेको छ। सीता भन्छिन्, “विदेश जानु रहर होइन, बाध्यता हो। तर जानुअघि स्वास्थ्य, सुरक्षा र कानुनी प्रक्रियाबारे राम्रोसँग बुझ्नुपर्छ।”
सीताको कथा केवल एउटी आमाको पीडा होइन; यो हजारौँ नेपाली वैदेशिक श्रमिकहरूको साझा यथार्थ हो। युवावस्थामा परदेशमा पसिना बगाउने, परिवारका लागि सपना साँच्ने र उमेर ढल्किँदा रोग र ऋण बोकेर फर्किनुपर्ने कथा बारम्बार दोहोरिन्छ।
उनको जीवनले एउटा गम्भीर प्रश्न उठाउँछ—वैदेशिक श्रमिकको स्वास्थ्य, सुरक्षा र सूचना पहुँच कति प्रभावकारी छ? परदेशको पसिना केवल रेमिटेन्समा सीमित नहोस्; श्रमिकको जीवन, स्वास्थ्य र भविष्यको सुनिश्चितता पनि उत्तिकै प्राथमिकता बन्नुपर्छ। नत्र, सीताजस्ता कथाहरू बाध्यताको इतिहास बनेर फेरि–फेरि लेखिइरहनेछन्।
