अमेरिका–इरानबीच अस्थायी युद्धविराम
काठमाडौं । अमेरिका र इरानबीच जारी तनावलाई कम गर्न दुई साताको अस्थायी युद्धविराम गर्ने सहमति भएको छ। युद्धविरामको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बिहान आफ्नो ट्रुथ सोसलमार्फत सार्वजनिक गरेका हुन्।
ट्रम्पले यसअघि इरानलाई स्ट्रेट अफ हर्मुज खुला गर्न कडा अल्टिमेटम दिएका थिए। तोकिएको समयभित्र जलमार्ग नखोले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएका थिए। अल्टिमेटमको समय सकिन केही घण्टा बाँकी रहँदा दुवै पक्ष युद्धविराममा सहमत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
तनाव बढ्दै जाँदा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले मध्यस्थता गर्दै दुवै पक्षसँग निरन्तर संवाद गरेका थिए। कूटनीतिक पहलपछि युद्धविराममा सहमति जुटेको र त्यसका लागि अमेरिका र इरानले पाकिस्तानलाई धन्यवाद दिएका छन्। प्रधानमन्त्री शरीफले सामाजिक सञ्जालमार्फत तत्काल लागू हुने युद्धविराममा सहमति भएको जानकारी दिएका छन्।
अमेरिकी पक्षले इसराइल पनि युद्धविरामका लागि तयार भएको दाबी गरेको छ भने इरानी अधिकारीहरूले लेबननसमेत सहमतिमा समेटिएको बताएका छन्। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार इरानले अघि सारेको १० बुँदे प्रस्तावमा अमेरिका सकारात्मक देखिएको छ।
उक्त प्रस्तावमा खाडी क्षेत्रमा जारी द्वन्द्व अन्त्य, स्ट्रेट अफ हर्मुजमा सुरक्षित आवतजावतको व्यवस्था, इरानमाथि लगाइएका प्रतिबन्ध हटाउने र युद्धपछिको पुनर्निर्माणसम्बन्धी विषय समेटिएको बताइएको छ। साथै, इसराइलबाट आक्रमण रोकिने अवस्थामा इरानले हर्मुज जलमार्ग खुला गर्ने संकेत पनि दिएको छ।
दुवै देशबीच थप कूटनीतिक समाधान खोज्न आगामी १५ दिनभित्र पाकिस्तानको राजधानी इस्लामावादमा औपचारिक वार्ता गर्ने सहमति भएको अधिकारीहरूले बताएका छन्।
झण्डै छ हप्तादेखि जारी संघर्षका कारण एक दर्जनभन्दा बढी देश प्रभावित भएका छन् भने पाँच हजारभन्दा बढी मानिसको ज्यान गएको अनुमान गरिएको छ। इरानमा मात्रै १ हजार ६ सयभन्दा बढी सर्वसाधारण मारिएका बताइएको छ।
अन्तिम समयमा भएको युद्धविराम सहमतिले अन्तर्राष्ट्रिय बजारमा केही राहत देखिएको छ। कच्चा तेलको मूल्य घट्दै करिब ९२ डलर प्रति ब्यारेलमा झरेको छ भने अमेरिकी सेयर बजारमा सुधार देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
