ढुङ्गे बगैँचा बुङालुङ पार्कमा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण सुरु
खोटाङ । त्रिधार्मिकस्थल हलेसी नजिकको ककनीडाँडामा निर्माणाधीन बुङालुङ पार्क (ढुङ्गे बगैँचा)मा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण कार्य सुरु गरिएको छ। कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय र हलेसी तुवाचुङ नगरपालिकाको सहकार्यमा उक्त परियोजना अघि बढाइएको हो।
नगरप्रवक्ता तथा वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीका अनुसार सङ्ग्रहालय भवन निर्माणका लागि प्रदेश सरकार र नगरपालिकाले एक–एक करोड रुपैयाँ बजेट विनियोजन गरेका छन्। प्रदेशको बजेटबाट गङ्गा–जमुना निर्माण सेवा ताप्लेजुङले करिब ९० लाख रुपैयाँमा काम गरिरहेको छ भने नगरपालिकाको बजेटबाट सुदेवी कन्स्ट्रक्सन एन्ड सप्लायर्सले करिब ८० लाख ८१ हजार रुपैयाँमा निर्माणको जिम्मा लिएको छ।
गत फागुन २२ गते सम्झौता गरेर सुरु गरिएको निर्माण कार्य आगामी जेठ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। प्रदेशको बजेटबाट एक र नगरपालिकाको बजेटबाट दुईवटा सङ्ग्रहालय भवन निर्माण गरिने नगरपालिकाले जनाएको छ।
नगरप्रमुख विमला राईका अनुसार बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक पहिचानलाई संरक्षण गर्दै हलेसी क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सङ्ग्रहालय निर्माण सुरु गरिएको हो। स्थानीय इतिहास, संस्कृति, परम्परा र समुदायको जीवनशैलीलाई सङ्ग्रहालयमार्फत प्रदर्शित गरिने योजना रहेको उनले बताइन्। यो परियोजनालाई नगरपालिकाले गौरवको योजनाका रूपमा अघि बढाएको छ।
हलेसीबाट करिब आधा घण्टा पैदल उकालो चढेपछि पुगिने ककनीडाँडा पहिले नै पिकनिक र घुमफिरका लागि परिचित थियो। अहिले भने ढुङ्गे बगैँचा, कलात्मक ढुङ्गाका संरचना, गेट, धारा, सिँढी र सांस्कृतिक कलाकृतिसहितको बुङालुङ पार्क निर्माण भइरहेपछि यसको आकर्षण थप बढेको छ।
पार्क क्षेत्रमा प्राकृतिक ढुङ्गालाई जोगाउँदै फूल रोप्ने, ढुङ्गे प्रवेशद्वार बनाउने, महादेवलाई भस्मासुरले लखेटेको दृश्य झल्काउने मूर्ति तयार गर्ने, कलात्मक आकृतिहरू निर्माण गर्ने लगायतका काम भइरहेका छन्। साथै विश्रामस्थल, पिउने पानी, विद्युत्, रेष्टुरेन्ट, टिकट काउन्टर, शौचालय र सुरक्षाका संरचना निर्माण भइसकेका छन् भने केबुलकार, कफी सप र भोजनालय निर्माण गर्ने दीर्घकालीन योजना पनि अघि सारिएको छ।
किंवदन्तीअनुसार भस्मासुरले महादेवलाई लखेट्दा ककनीडाँडामा महादेवको पाइला परेपछि ढुङ्गाको विशेष आकृति बनेको विश्वास गरिन्छ। यही ऐतिहासिक र धार्मिक कथासँग जोडिएर बुङालुङ पार्कलाई थप आकर्षक बनाउने प्रयास भइरहेको छ।
यो पार्क मुन्दुम ट्रेलको प्रवेशद्वारमा पर्ने भएकाले किराती सभ्यता, तुवाचुङ–जायजुम क्षेत्र र हिमाली दृश्यावलोकनसँग जोडिएको पर्यटन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। यहाँबाट सगरमाथा क्षेत्र, सोलुखुम्बु, भोजपुर, ओखलढुङ्गा, रामेछापलगायत जिल्लाका दृश्य सजिलै अवलोकन गर्न सकिन्छ।
मध्यपहाडी लोकमार्गमार्फत जयरामघाट–हलेसी सडक हुँदै छोटो पैदल यात्रामा पुग्न सकिने बुङालुङ पार्क निर्माणाधीन अवस्थामै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ। संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा अघि बढाइएको यस परियोजनाले खोटाङको धार्मिक तथा सांस्कृतिक पर्यटनलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ।
