टिम बालेन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन शाह प्रधानमन्त्री नियुक्त भएसँगै नयाँ मन्त्रीमण्डल गठन भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
प्रधानमन्त्री शाहसहित १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको छ। सबै मन्त्रीहरूले शुक्रबार नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। मन्त्रीमण्डलमा राजनीति, शिक्षा, सामाजिक अभियान, अर्थशास्त्र, कानुन, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा अनुभव भएका व्यक्तिहरूलाई समेटिएको छ।
स्वर्णिम वाग्ले – अर्थमन्त्री
तनहुँ–२ बाट निर्वाचित सांसद स्वर्णिम वाग्ले अर्थमन्त्री बनेका छन्। अर्थशास्त्रमा विद्यावारिधि गरेका वाग्ले राष्ट्रसंघीय विकास कार्यक्रम, विश्व बैंक, राष्ट्रिय योजना आयोग लगायत संस्थामा काम गरिसकेका अनुभवी अर्थविद् हुन्। आर्थिक सुधार, निजी क्षेत्र सशक्तीकरण र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा उनको विशेष जोड रहेको छ।
शिशिर खनाल – परराष्ट्रमन्त्री
काठमाडौं–६ बाट निर्वाचित शिशिर खनाल परराष्ट्रमन्त्री नियुक्त भएका छन्। शिक्षामन्त्रीको अनुभवसमेत रहेका खनाल ‘टिच फर नेपाल’ का संस्थापक हुन्। सार्वजनिक नीति र अन्तर्राष्ट्रिय सम्बन्धमा अध्ययन गरेका उनले शिक्षा र कूटनीतिमा सक्रिय भूमिका खेल्दै आएका छन्।
सुधन गुरुङ – गृहमन्त्री
गोरखा–१ बाट निर्वाचित युवा नेता सुधन गुरुङ गृहमन्त्री बनेका छन्। सामाजिक अभियान र जनआन्दोलनमा सक्रिय भूमिका खेलेका गुरुङले राहत, समन्वय र राजनीतिक संवादमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
विराजभक्त श्रेष्ठ – ऊर्जामन्त्री
काठमाडौं–८ बाट निर्वाचित विराजभक्त श्रेष्ठ ऊर्जामन्त्री बनेका छन्। विवेकशील राजनीतिबाट आएका उनी युवा तथा खेलकुदमन्त्रीको अनुभवसहित ऊर्जा क्षेत्रमा जिम्मेवारी सम्हाल्न पुगेका हुन्।
सोबिता गौतम – कानुनमन्त्री
चितवन–३ बाट निर्वाचित सोबिता गौतम कानुनमन्त्री बनेकी छन्। सञ्चार क्षेत्रबाट राजनीतिमा आएकी गौतम कानुन तथा मानवअधिकार समितिमा सक्रिय सांसदका रूपमा चिनिन्छिन्।
बिक्रम तिमल्सिना – सूचना तथा सञ्चार मन्त्री
नुवाकोट–१ बाट निर्वाचित बिक्रम तिमल्सिना सूचना तथा सञ्चार मन्त्री बनेका छन्। अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गरेका तिमल्सिना अध्यापन, अनुसन्धान र सञ्चार क्षेत्रमा अनुभव भएका व्यक्ति हुन्।
सीता वादी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
बादी समुदायबाट प्रतिनिधित्व गर्ने सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी छन्। सामाजिक विभेद र अभावबीच संघर्ष गर्दै राजनीतिमा पुगेकी वादी सीमान्तकृत समुदायको प्रतिनिधित्व गर्ने महत्वपूर्ण अनुहार मानिन्छिन्।
सस्मित पोखरेल – शिक्षा, युवा तथा खेलकुद मन्त्री
काठमाडौं–५ बाट निर्वाचित सस्मित पोखरेल शिक्षा, युवा तथा खेलकुद मन्त्री बनेका छन्। नीति निर्माण, सुशासन र शिक्षा सुधारमा सक्रिय युवा नेता हुन्।
प्रतिभा रावल – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री
पत्रकारिता पृष्ठभूमिकी प्रतिभा रावल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेकी छन्। पार्टी स्थापनाकालदेखि सक्रिय उनी प्रशासन सुधार र सुशासनमा केन्द्रित रहने अपेक्षा गरिएको छ।
गनेश पौडेल – पर्यटन तथा संस्कृति मन्त्री
पोखराका लेखक गनेश पौडेल पर्यटन तथा संस्कृति मन्त्री बनेका छन्। साहित्य र पर्यटन प्रवर्द्धनमा सक्रिय उनी कास्की–१ बाट निर्वाचित सांसद हुन्।
गीता चौधरी – कृषि तथा पशुपन्छी विकास तथा वन मन्त्री
कञ्चनपुरकी गीता चौधरी कृषि तथा पशुपन्छी विकास तथा वन मन्त्री बनेकी छन्। कानुन व्यवसायीका रूपमा काम गरेकी उनले किसान, भूमिहीन र सीमान्तकृत वर्गका मुद्दा उठाउँदै आएकी छन्।
सुनिल लम्साल – भौतिक पूर्वाधार तथा यातायात मन्त्री
रूपन्देही–१ बाट निर्वाचित इन्जिनियर सुनिल लम्साल भौतिक पूर्वाधार मन्त्री बनेका छन्। पूर्वाधार विकास, शहरी व्यवस्थापन र फोहोर व्यवस्थापनमा अनुभव भएका उनी प्रधानमन्त्री शाहका निकट सहयोगीसमेत हुन्।
निशा मेहता – स्वास्थ्य तथा जनसंख्या मन्त्री
सुनसरीकी निशा मेहता स्वास्थ्य मन्त्री बनेकी छन्। नर्सिङ पृष्ठभूमि भएकी उनले स्वास्थ्य सेवा र जनस्वास्थ्य क्षेत्रमा काम गरिसकेकी छन्।
दीपक साह – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
महोत्तरी–२ बाट निर्वाचित दीपक साह श्रममन्त्री बनेका छन्। सार्वजनिक स्वास्थ्य, श्रम नीति र सामाजिक सुरक्षा क्षेत्रमा अध्ययन र अनुसन्धान गरेका उनी नीति निर्माणमा सक्रिय छन्।
