काठमाडौँ । हालैको बाढी तथा पहिरोबाट प्रभावित नेपालीका लागि अस्ट्रेलिया सरकारले ५० लाख अस्ट्रेलियन डलर बराबरको मानवीय सहायता घोषणा गरेको छ। राहतसँगै प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणमा समेत सहयोग पुग्ने गरी रकम परिचालन गरिने भएको हो। अस्ट्रेलियाको विदेश मन्त्रालयका अनुसार सहायता नेपालमा कार्यरत साझेदार संस्थामार्फत प्रभावित समुदायसम्म पुर्याइनेछ। बाढीबाट विस्थापित तथा जोखिममा परेका परिवारलाई खाद्यान्न, अस्थायी आश्रय, स्वच्छ खानेपानी, सरसफाइ र स्वास्थ्यसम्बन्धी अत्यावश्यक सेवा उपलब्ध गराउन रकम खर्च हुनेछ। घोषित सहयोगमध्ये २० लाख अस्ट्रेलियन डलर विश्व खाद्यकार्यक्रम (डब्लुएफपी) मार्फत परिचालन गरिनेछ। यसबाट प्रभावित परिवारलाई खाद्यान्न उपलब्ध गराउनुका साथै आपत्कालीन लजिस्टिक व्यवस्थापनमा सहयोग गरिनेछ। त्यस्तै, अर्को २० लाख डलर अस्ट्रेलियन ह्युम्यानिटेरियन पार्टनरसिप अन्तर्गत अस्ट्रेलियाली गैरसरकारी संस्थामार्फत परिचालन हुनेछ। उक्त रकमबाट आपत्कालीन आश्रय, कम्बल, सरसफाइ सामग्री, स्वास्थ्य सेवा तथा मनोसामाजिक परामर्शजस्ता सेवा प्रदान गरिनेछ। बाँकी १० लाख अस्ट्रेलियन डलर इमर्जेन्सी एक्सन एलायन्समार्फत स्थानीय तहमा सञ्चालन हुने पुनःस्थापना र पुनर्निर्माणका काममा खर्च गरिने अस्ट्रेलियाको विदेश मन्त्रालयले जनाएको छ।