रसुवा बाढीमा सेनाको उद्धार तीव्र, १०१ विदेशीसमेत ८९६ जनाको उद्धार
काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीपछि नेपाली सेनाले खोज तथा उद्धार अभियानलाई तीव्र बनाएको छ। हेलिकप्टर र स्थलमार्गबाट सञ्चालन गरिएको उद्धार अभियानमा १०१ विदेशी नागरिकसहित ८९६ जनालाई सुरक्षित स्थानमा सारिएको सेनाले जनाएको छ।

सेनाले प्रभावित टिमुरे, स्याफ्रुवेशी, धुन्चे र मैलुङ क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार थालेको थियो। यी क्षेत्रबाट ६९६ जनालाई हवाई माध्यमबाट र थप २०० जनालाई स्थलमार्गबाट उद्धार गरिएको हो।
उद्धारसँगै प्रभावित तथा घाइतेको उपचारमा पनि सेनाले प्राथमिकता दिएको छ। त्रिशूलीमा स्थापना गरिएको आपतकालीन उपचार केन्द्रबाट ३५४ जना र धुन्चेको मेडिकल टोलीबाट ५४६ जनासहित ९०० जनाले स्वास्थ्य सेवा लिएका छन्।
खोजीका लागि ड्रोन र सैनिक कुकुर
सम्पर्कविहीन तथा बेपत्ता व्यक्तिको खोजीका लागि सेनाले ड्रोन र सैनिक कुकुर परिचालन गरेको छ। उद्धार तथा राहतका लागि रसुवा र नुवाकोटमा ४ हजार २०० भन्दा बढी सैनिक परिचालन गरिएको छ। नुवाकोटदेखि चितवनसम्म थप १ हजार २०० भन्दा बढी सैनिक परिचालन गरिएको सेनाले जनाएको छ।
बाढी र पहिरोका कारण अवरुद्ध सडक खुलाउनसमेत सेना सक्रिय छ। पृथ्वी राजमार्गमा थुप्रिएको लेदो हटाउने तथा बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको शव खोजी तथा उद्धार गर्ने काम पनि जारी छ।
सुरुङमा फसेकाको खोजी प्राथमिकतामा
बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिको खोजीलाई सेनाले आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ। मैलुङ, टिमुरे र स्याफ्रुवेशीका सुरुङमा सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धार, नदी किनारमा शव खोजी र आपतकालीन उपचारलाई प्राथमिकतामा राखिएको छ।
यसका साथै त्रिशूली–धुन्चे सडक सञ्चालनमा ल्याउने कामलाई पनि सेनाले मुख्य प्राथमिकतामा राखेको छ।
रसुवामा आएको बाढीले सडक, पुल, सुरुङ, जलविद्युत् तथा अन्य पूर्वाधारमा क्षति पुर्याएपछि जिल्लाका विभिन्न क्षेत्रको आवागमन प्रभावित भएको छ। बाढीपहिरोका कारण स्थानीय बासिन्दासँगै विदेशी पर्यटक तथा अन्य यात्रुहरू पनि प्रभावित भएका छन्।
दुर्गम तथा सडक सम्पर्क टुटेका क्षेत्रमा उद्धारका लागि हवाई माध्यम प्रभावकारी बनेको छ। तर खराब मौसम, अवरुद्ध सडक र जोखिमपूर्ण भूगोलका कारण बेपत्ताको खोजी, राहत सामग्री पुर्याउने र क्षतिग्रस्त सडक पुनः सञ्चालन गर्ने काम अझै चुनौतीपूर्ण रहेको छ।
