बालेनको कालो चस्माबारे संसद् सचिवालयमा स्वास्थ्य रिपोर्ट
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले प्रतिनिधिसभा बैठकमा कालो चस्मा प्रयोग गर्नुपर्ने स्वास्थ्यसम्बन्धी कारण देखाउँदै संसद् सचिवालयमा मेडिकल रिपोर्टसहितको पत्र बुझाएका छन्।
संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थासम्बन्धी पत्र प्राप्त भएको पुष्टि गरेका छन्।
उनका अनुसार पत्रमा प्रधानमन्त्रीलाई स्वास्थ्य कारणले कालो चस्मा लगाउनुपर्ने अवस्था रहेको उल्लेख गरिएको छ। तर, प्रधानमन्त्रीलाई त्यस्तो चस्मा प्रयोग गर्नुपर्ने ठ्याक्कै स्वास्थ्य समस्या के हो भन्ने विषय भने सार्वजनिक गरिएको छैन।
यसअघि साउन २० गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख डीपी अर्यालले संसद् बैठकमा सांसदहरूले कालो चस्मा लगाउने गरेको विषयमा प्रश्न उठेको भन्दै त्यसलाई नियन्त्रण गर्ने बताएका थिए।
सभामुख अर्यालले स्वास्थ्य कारणले कालो चस्मा लगाउनैपर्ने अवस्था भए त्यसको प्रमाणका रूपमा चिकित्सकीय परीक्षण रिपोर्ट पेस गर्नुपर्ने बताएका थिए।
त्यसैअनुसार प्रधानमन्त्री बालेनले स्वास्थ्य परीक्षणको रिपोर्टसहित संसद् सचिवालयमा पत्र बुझाएको बताइएको छ।
प्रधानमन्त्रीलाई देखिएको स्वास्थ्य समस्या सार्वजनिक नगरे पनि संसद् सचिवालयले कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य कारण रहेको पुष्टि गरेको छ।
प्रधानमन्त्री बालेनले बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदैछन्। त्यसको एक दिनअघि उनको कालो चस्मासम्बन्धी स्वास्थ्य रिपोर्ट संसद् सचिवालयमा पुगेको हो।
