रसुवाको बाढीमा फसेका १,९७६ जनाको हेलिकप्टरबाट उद्धार
काठमाडौँ । रसुवामा आएको बाढीपछि विभिन्न स्थानमा अलपत्र परेका तथा उद्धारको प्रतीक्षामा रहेका १ हजार ९७६ जनालाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबारसम्म ठूलो संख्यामा मानिसको हवाई उद्धार गरिएको हो।
उद्धार अभियानमा नेपाली सेनाका ६ र निजी क्षेत्रका ९ गरी १५ वटा हेलिकप्टर परिचालन गरिएको थियो। दिनभरजसो रसुवाका बाढी प्रभावित क्षेत्रमा हेलिकप्टर उडाएर जोखिममा परेका व्यक्तिलाई उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
१३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
विपद्को खोज, उद्धार तथा राहत कार्यका लागि देशका तीनवटै सुरक्षा निकायबाट १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भएका छन्।
प्राधिकरणका अनुसार नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बलका १ हजार ८४५ जना उद्धार तथा राहत कार्यमा खटिएका छन्।
३८९ जनाको शव फेला
बाढीपहिरोबाट भएको मानवीय क्षतिको विवरण पनि गम्भीर देखिएको छ। बिहीबार रातिसम्म विभिन्न जिल्लाबाट ३८९ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ।
फेला परेका शवमध्ये चितवनमा सबैभन्दा धेरै १३७, नवलपरासी पूर्वमा ८७, रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, गोरखामा ३२, नवलपरासी पश्चिममा २७ र तनहुँमा २८ जनाको शव भेटिएको छ।
यस्तै, ९७७ जना अझै सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। सम्पर्कविहीनमध्ये नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, अध्यागमन कार्यालयका ४ तथा रसुवाका १६१ जना छन्। मकवानपुरका ६६ र नुवाकोटका एक जना पनि सम्पर्कविहीन रहेको जनाइएको छ।
५१७ विदेशी पनि सम्पर्कविहीन
विपद्मा ५१७ जना विदेशी नागरिक सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। त्यसमध्ये नेपाल भ्रमणमा आएका १२७ जना विदेशी पर्यटक समेत छन्।
बाढीपहिरोमा परी हालसम्म ७३ जना घाइते भएका छन्। घाइतेमध्ये रसुवामा ४३, नुवाकोटमा २७ र धादिङमा ३ जना रहेको प्राधिकरणको विवरण छ ।
