भत्किएका पुलको ठाउँमा बेलिब्रिज राख्न भारत–चीनसँग सहयोग माग्दै सरकार
काठमाडौं— बाढी र पहिरोका कारण सडक तथा पुल संरचना क्षतिग्रस्त भएपछि अवरुद्ध बनेको यातायात सेवा तत्काल सञ्चालनमा ल्याउन सरकारले भारत र चीनसँग ४२ वटा बेलिब्रिज निर्माणका लागि सहयोग मागेको छ।
बाढीबाट सबैभन्दा बढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा पुलहरू भत्किएपछि कतिपय बस्ती तथा सडकखण्डको आपसी सम्पर्क विच्छेद भएको छ। उद्धार, राहत तथा अत्यावश्यक सामग्रीको ढुवानीमा समेत समस्या भएपछि सरकारले अस्थायी पुल निर्माणलाई प्राथमिकतामा राखेको हो।
परराष्ट्र मन्त्रालयका अनुसार विपद् व्यवस्थापनका लागि आवश्यक विदेशी सहयोगलाई विपद् प्राधिकरणको माग र प्राथमिकताका आधारमा परिचालन गर्ने व्यवस्था गरिएको छ। प्राधिकरणले प्रभावित क्षेत्रमा तत्काल यातायात सञ्चालन गर्न ४२ वटा बेलिब्रिज आवश्यक पर्ने आकलन गरेपछि सोही विवरणका आधारमा भारत र चीनसमक्ष सहयोगको आग्रह गरिएको हो।
भारतले सहयोग गर्ने संकेत
भारतका विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बिहीबारको नियमित पत्रकार सम्मेलनमा नेपाललाई आवश्यकता परेको अवस्थामा बेलिब्रिजलगायतका पूर्वाधार सहयोग उपलब्ध गराउन भारत तयार रहेको बताएका थिए।
सरकारले भने अहिलेको प्राथमिकता प्रभावित क्षेत्रमा यातायात सम्पर्क पुनःस्थापित गर्नु रहेको जनाएको छ। स्थायी पुल निर्माणमा समय लाग्ने भएकाले तत्कालका लागि बेलिब्रिजमार्फत सडक सञ्चालनमा ल्याउने तयारी गरिएको हो।
राहत र उद्धारमा सहजता हुने अपेक्षा
रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा बाढीले पुल तथा सडकमा ठूलो क्षति पुर्याएपछि कतिपय ठाउँमा मानिसको दुईतर्फी आवतजावत पूर्ण रूपमा रोकिएको छ।
बेलिब्रिज निर्माण भएपछि प्रभावित क्षेत्रमा उद्धार टोलीको पहुँच बढ्नुका साथै खाद्यान्न, औषधि तथा अन्य राहत सामग्री ढुवानी गर्न सहज हुने अपेक्षा गरिएको छ। साथै, सम्पर्कविहीन बनेका बस्तीमा आवतजावत पुनःस्थापित गर्न पनि यसले महत्वपूर्ण भूमिका खेल्ने सरकारको अपेक्षा छ।
विपद्पछिको तत्कालीन आवश्यकता पूरा गर्न अस्थायी पुल निर्माणलाई तीव्रता दिने र त्यससँगै क्षतिग्रस्त स्थायी संरचनाको पुनर्निर्माण अघि बढाउने तयारी सरकारको छ।
