बाँझिँदै गएको जमिनमा उद्यमको बाटो, भुवानेमा बढ्दैछ कृषि पर्यटन
म्याग्दी — कुनै समय बाँदरको हैरानीका कारण खेती छाडेर झाडीले ढाकिएको म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरस्थित भुवाने अहिले कृषि र पर्यटन गतिविधिको केन्द्र बन्दै गएको छ। दशकअघि बाँझिएको पुर्ख्यौली जमिनलाई उपयोग गर्दै रावल परिवारले कृषि फार्मसँगै होटल सञ्चालन गरेपछि गाउँको स्वरूप र चहलपहल दुवै फेरिएको छ।
कोरोना महामारीले होटल व्यवसाय प्रभावित भएपछि तनहुँमा १२ वर्षदेखि होटल चलाउँदै आएका रमेश रावल २०७७ सालमा परिवारसहित आफ्नै गाउँ फर्किए। त्यसपछि सडक छेउमै रहेको झाडीले ढाकेको जमिनलाई पुनः उपयोगमा ल्याएर नयाँ व्यवसाय सुरु गर्ने योजना बनाए।
‘पहिले खेती हुने जमिन हो । बाँदरको समस्या बढेपछि खेती गर्न छाडियो र विस्तारै झाडीले ढाक्यो’, रावलले भने, ‘गाउँ फर्किएपछि यही जमिनलाई उपयोग गरेर केही गर्नुपर्छ भन्ने सोच आयो । त्यसपछि होटल र कृषि फार्म सुरु गरेका हौं ।’
रावल परिवारले अहिले १४ रोपनी क्षेत्रमा कटेज शैलीको होटल सञ्चालन गरिरहेको छ। घरबास अवधारणामा चलाइएको होटलमा एकपटकमा २५ जनासम्म पाहुना बस्न सक्ने व्यवस्था छ।
आफ्नै फार्मको उत्पादन होटलमा
भुवानेमा सञ्चालन भइरहेको होटलको अर्को विशेषता आफ्नै कृषि फार्मसँगको सम्बन्ध हो। होटलका लागि आवश्यक खाद्य सामग्री सकेसम्म बाहिरबाट खरिद गर्नुको सट्टा फार्ममै उत्पादन गर्ने प्रयास गरिएको छ।
फार्ममा उत्पादन हुने कुखुरा, खसीको मासु, भैंसीको दूध र विभिन्न तरकारी होटलमै प्रयोग गरिन्छ। यसले होटल व्यवसायलाई कृषि उत्पादनसँग जोड्नुका साथै स्थानीय उत्पादनको उपयोग बढाएको छ।
बागलुङ–बेनी सडकसँग जोडिएको भुवानेमा होटलसँगै बालबालिकाका लागि खेल्ने ठाउँ, वनभोज र क्याम्प फायरका लागि आवश्यक पूर्वाधारसमेत तयार गरिएको छ।
विदेश होइन, गाउँमै सम्भावना खोज्दै युवा
रावलका छोरा सुलभले काठमाडौंमा उच्च शिक्षा पूरा गरेपछि गाउँमै फर्किएर पारिवारिक व्यवसायमा साथ दिएका छन्। वैदेशिक रोजगारीका लागि युवाहरू बाहिरिने क्रम बढिरहेका बेला उनले भने कृषि र पर्यटनलाई एउटै व्यवसायिक अवधारणामा जोडेर गाउँमै सम्भावना खोज्ने बाटो रोजेका छन्।
‘कृषि उत्पादनमात्रै गर्नेभन्दा त्यसलाई पर्यटनसँग जोड्न सकियो भने थप सम्भावना हुन्छ’, उनले भने, ‘आगामी दिनमा फार्मलाई एग्रो टुरिजमको अवधारणाअनुसार व्यवस्थित गर्दै लैजाने योजना छ।’
रावल परिवारले कृषि उत्पादन, ग्रामीण परिवेश र आतिथ्य सेवाको संयोजनमार्फत भुवानेलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको छ। अहिले होटल र कृषि फार्ममा आठ जनाले रोजगारी पाएका छन्।
प्राकृतिक आकर्षणले थपेको सम्भावना
भुवानेबाट धवलागिरि हिमालको आकर्षक दृश्य देखिन्छ भने नजिकै कालीगण्डकी नदी बग्छ। हिउँदमा रत्नेचौरका खेतबारीमा फुल्ने पहेँलो तोरीले पनि आन्तरिक पर्यटकलाई आकर्षित गर्ने गरेको छ।
श्रीलक्ष्मीहरि मन्दिर तथा रत्नेचौरलाई बागलुङको कुडुलेसँग जोड्ने लामो झोलुङ्गे पुल यहाँका थप आकर्षण हुन्। कृषि, ग्रामीण जीवनशैली र प्राकृतिक दृश्यलाई एउटै ठाउँमा अनुभव गर्न सकिने भएकाले भुवानेमा पर्यटनको सम्भावना देखिएको छ।
भुवानेमा रावल परिवारको होटलसँगै भारतीय सेनाबाट निवृत्त हरि खत्रीले सञ्चालन गरेको चिता हाउस होटल तथा रेष्टुरेन्ट पनि सञ्चालनमा छ। दुईवटा होटल सञ्चालनमा आएपछि यस क्षेत्रमा मानिसको आवागमनसमेत बढेको स्थानीय बताउँछन्।
झाडीबाट उत्पादनतर्फ
स्थानीय अगुवा ओम रोकाका अनुसार बाँदरका कारण खेती हुन छाडेको र झाडीले ढाकिएको जमिनलाई पुनः उत्पादन र व्यवसायसँग जोड्ने उदाहरण रावल परिवारले प्रस्तुत गरेको छ।
‘बाँदरको समस्याका कारण खेती गर्न छाडिएको र झाडीले ढाकिएको पुर्ख्यौली जमिनलाई पुनः उपयोगमा ल्याएर रावल परिवारले कृषि, आतिथ्य र पर्यटनलाई एउटै व्यवसायमा जोडेको छ’, उनले भने, ‘यसले गाउँमा बाँझिँदै गएको जमिनलाई उत्पादनसँग जोड्न सकिने र स्थानीयस्तरमै रोजगारी तथा उद्यमका अवसर सिर्जना गर्न सकिने सम्भावना पनि देखाएको छ।’
भुवानेको यो प्रयासले खेती गर्न कठिनाइ भएपछि बाँझिँदै गएका ग्रामीण क्षेत्रका जमिनलाई वैकल्पिक ढंगबाट उपयोग गर्न सकिने सम्भावना देखाएको छ। कृषि उत्पादनलाई पर्यटन र आतिथ्य सेवासँग जोड्न सके गाउँमै रोजगारी सिर्जना गर्दै स्थानीय अर्थतन्त्र चलायमान बनाउन सकिने उदाहरणका रूपमा भुवानेको परिवर्तनलाई लिन सकिन्छ।
