गोरखामा नाम्रुङ खोलाको बाढीले चार घर र झोलुंगे पुल बगायो
गोरखा — गोरखाको चुमनुब्री गाउँपालिकामा नाम्रुङ खोलामा आएको बाढीले चारवटा घरसहित एउटा झोलुंगे पुल बगाएको छ। बाढीबाट मानवीय क्षति भने भएको छैन।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार आइतबार बिहान आएको बाढीले चुमनुब्री गाउँपालिका–४ का नुर्वु छिरिङ, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनका घरमा क्षति पुर्याएको हो।
बाढी आउने संकेत पाएपछि स्थानीयवासी समयमै सुरक्षित स्थानतर्फ लागेकाले मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ।
बाढीले सोही क्षेत्रमा रहेको झोलुंगे पुलसमेत बगाएपछि आवतजावत प्रभावित भएको छ। पुलमा क्षति पुगेसँगै मनास्लु पदयात्रामा रहेका पर्यटकलाई समेत समस्या पर्ने भएको छ।
चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार तत्कालका लागि पैदल आवतजावत सहज बनाउन स्थानीयस्तरबाट अस्थायी उपाय खोज्न सकिने अवस्था छ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार खोलाको मुहानतिर केही समय पानी थुनिएपछि लेदोसहितको ठूलो बहाव तलतिर आएको थियो। त्यसैका कारण बस्ती तथा पुलमा क्षति पुगेको हो।
नाम्रुङ खोला बूढीगण्डकी नदीमा मिसिने भएकाले तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढ्न सक्ने भन्दै स्थानीय प्रशासनले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
