पहिरोले साँफे–मार्तडी सडक रोकिँदा बाजुरा जाने पर्यटक यात्रामै अलपत्र
बाजुरा — वर्षासँगै ठाउँ–ठाउँमा पहिरो खसेपछि बाजुराको प्रमुख पर्यटकीय गन्तव्यतर्फ जाने सडक अवरुद्ध भएको छ। साँफे–मार्तडी सडकखण्ड बन्द हुँदा बडीमालिका क्षेत्रसहित बाजुराका विभिन्न पर्यटकीय स्थलतर्फ जाने यात्रु तथा पर्यटकको आवागमन प्रभावित भएको छ।
लगातार वर्षाका कारण मार्तडीस्थित बडीमालिका नगरपालिका–९ का कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड र सुवाकाँधलगायत स्थानमा पहिरो खसेको हो। यस्तै बडीमालिका–८ को राप्का तथा वडा नं. ६ को जडाङ्गाल क्षेत्रमा पनि पहिरोले सडक अवरुद्ध पारेको छ।
सडक बन्द भएपछि बाजुरा प्रवेश गर्ने तथा जिल्लाबाट बाहिरिने सवारीसाधन बाटोमै रोकिएका छन्। पर्यटकीय सिजन सुरु हुने समयमा सडक अवरुद्ध हुँदा बडीमालिका लगायतका गन्तव्यमा पुग्ने पर्यटकको यात्रा प्रभावित हुनसक्ने पर्यटन व्यवसायीले बताएका छन्।
बाजुराका दुर्गम पर्यटकीय क्षेत्रसम्म पुग्न सडक यातायात महत्वपूर्ण माध्यम रहेकाले वर्षायाममा हुने यस्ता अवरोधले पर्यटन गतिविधिमा प्रत्यक्ष असर पार्ने गरेको छ। विशेषगरी सडक अवरुद्ध हुँदा होटल, होमस्टे, यातायात तथा स्थानीय पर्यटन व्यवसायमा निर्भर समुदायसमेत प्रभावित हुने अवस्था छ।
सडक खुलाउन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक लक्ष्मी दत्त भट्टको नेतृत्वमा पाँच जनाको टोली परिचालन गरिएको छ। बडीमालिका नगरपालिका र सडक विभागको जेसिबी प्रयोग गरी पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ।
तर, वर्षा नरोकिएकाले सडकका अन्य खण्डमा समेत पहिरो खस्ने जोखिम कायमै रहेको प्रहरीले जनाएको छ। यसले सडक पूर्णरूपमा सञ्चालनमा आएपछि पनि बाजुरा भ्रमण गर्ने पर्यटकका लागि यात्रा जोखिमपूर्ण बन्न सक्ने देखिएको छ।
