बचाऊ-बचाऊ’ भन्ने आवाज सुनेपछि बाढीले पुरिएको घरभित्र छिर्यो उद्धार टोली
काठमाडौं — त्रिशूली नदीको बाढीले बस्ती नै बगाएको १० दिनपछि नुवाकोटको बेत्रावतीमा पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार भएको छ। घरको भग्नावशेषभित्रबाट अचानक ‘बचाऊ-बचाऊ’ भन्ने आवाज आएपछि उद्धार टोलीले खोजी गर्दा करिब ६५ वर्षीया चण्डिका श्रेष्ठलाई जीवित अवस्थामा फेला पारेको हो।
शनिबार दिउँसो विदुर नगरपालिका–१०, बेत्रावतीस्थित बाढीले पुरिएको घरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले श्रेष्ठको उद्धार गरेको हो। उद्धारपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
खोजी तथा उद्धारमा खटिएका सशस्त्र प्रहरीका फिल्ड कमान्डर इन्स्पेक्टर सुमन विश्वकर्माका अनुसार बाढीले करिब सय मिटर माथिबाट बगाएर ल्याएको चारतले घर लेदो र गेग्रानले पुरिएको थियो। घरको माथिल्लो तलाको आधा भाग मात्र बाहिर देखिएको थियो।
उद्धार टोलीले भदौ १० गतेदेखि नै उक्त क्षेत्रमा खोजी गरिरहेको थियो। तर यसअघि घरभित्रबाट कुनै संकेत नपाएको विश्वकर्माले बताए।
शनिबार भने खोजीका क्रममा अचानक मानिसले कराएको जस्तो आवाज सुनियो।
‘बचाऊ, बचाऊ भन्ने आवाज आयो। आवाज कताबाट आयो भन्ने छुट्याउन गाह्रो थियो, इको आएजस्तो सुनिन्थ्यो,’ विश्वकर्माले भने, ‘त्यसपछि आवाज आएको ठाउँतर्फ गएर घरभित्र प्रवेश गरी खोजी गर्यौं।’
आवाज आएपछि टोलीले घरको माथिल्लो भागमा रहेको सानो झ्यालजस्तो ठाउँ फुटाएर भित्र प्रवेश गरेको थियो। त्यस क्रममा उनीहरूले चण्डिकालाई जीवित अवस्थामा फेला पारे।
विश्वकर्माका अनुसार बाढी आएपछि चण्डिका बेहोस भएको हुनसक्ने र केही समयपछि मात्रै होसमा आएर आवाज निकालेको हुनसक्छ। लगातारको खोजीका क्रममा कुनै संकेत नपाए पनि अचानक आवाज सुनेपछि टोलीले तत्काल उद्धार गरेको उनको भनाइ छ।
उद्धारकर्मी नजिक पुगेपछि चण्डिकाले पानी मागेकी थिइन्। उनलाई नआत्तिन आग्रह गर्दै सुरक्षित रूपमा बाहिर निकालिएको थियो।
चण्डिका स्थानीय आनन्द श्रेष्ठकी श्रीमती हुन्। उद्धारपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ।
बेत्रावती क्षेत्रमा बाढीले पुरिएका थप १५–२० वटा घरमा पनि खोजी तथा उद्धार कार्य जारी रहेको इन्स्पेक्टर विश्वकर्माले जानकारी दिए।
