मनास्लु पदमार्गमा बाढीको कहर, लार्केपास यात्रा अनिश्चित
गोरखा — मनास्लु संरक्षण क्षेत्रअन्तर्गत बूढीगण्डकी र थेराङ खोलामा आएको बाढीले पुल बगाएपछि मनास्लु पदमार्ग अवरुद्ध भएको छ। पदमार्गमा क्षति पुगेसँगै जिल्ला प्रशासन कार्यालय गोरखाले अर्को सूचना जारी नभएसम्म मनास्लु क्षेत्रको पदयात्रा र लार्केपास आवतजावतमा रोक लगाएको छ।
आइतबार बिहान उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङ क्षेत्रमा आएको बाढीले दुईवटा पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार बाढीले दुईवटा लघुजलविद्युत् आयोजना समेत बगाएको छ।
पुल र जलविद्युत् आयोजना क्षतिग्रस्त भएपछि नाम्रुङसहित आसपासका बस्तीमा विद्युत् तथा सञ्चार सेवा प्रभावित भएको छ। बाढीबाट हालसम्म मानवीय क्षति भने नभएको प्रशासनले जनाएको छ।
पुल बगेसँगै मनास्लु क्षेत्रमा भर्खर सुरु हुन लागेको पर्यटकीय गतिविधि प्रभावित भएको छ। लार्केपासतर्फ गएका सयौँ पर्यटक बूढीगण्डकीमाथिको पुल बगेपछि बाटोमै रोकिएका छन्। स्थानीय लाक्पा डुन्डुपका अनुसार पर्यटकसँगै स्थानीय बासिन्दाको आवतजावतसमेत प्रभावित भएको छ।
मनास्लु हिमाल आरोहणको मुख्य सिजन सुरु हुनै लागेका बेला पदमार्गमा आएको अवरोधले आगामी पर्यटकीय गतिविधिमा समेत असर पार्ने देखिएको छ। पर्यटन विभागका अनुसार यस शरद् ऋतुमा मनास्लु आरोहणका लागि २९ टोलीका ३४८ आरोहीले अनुमति लिएका छन्।
विभागले शरद् ऋतुका लागि हालसम्म ३२ टोलीका ३६७ आरोहीलाई विभिन्न हिमाल आरोहणको अनुमति दिएको छ। त्यसमध्ये सबैभन्दा ठूलो संख्या मनास्लु आरोहणका लागि रहेको छ।
बाढीले पदमार्ग र पुलमा क्षति पुर्याएपछि पर्यटकको आवागमन कहिलेबाट सहज हुन्छ भन्ने अझै निश्चित भएको छैन। क्षतिग्रस्त संरचनाको अवस्था र वैकल्पिक बाटोबारे अध्ययनपछि मात्रै यात्रा पुनः सञ्चालनको निर्णय हुने प्रशासनले जनाएको छ।
