कार्यालयमा अनुपस्थित र बिनास्वीकृति बिदा बसेका ७ इन्जिनियर सेवाबाट हटाइए
काठमाडौं — पूर्वाधार विकास मन्त्रालयले नियमित रूपमा कार्यालयमा उपस्थित नभएको तथा स्वीकृति नलिई बिदामा बसेको भन्दै सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ।
मन्त्रालयका अनुसार नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूहअन्तर्गत बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका सात जना इन्जिनियरमाथि कारबाही गरिएको हो।
सेवाबाट हटाइएकामध्ये छ जना कार्यालयमा हाजिर नभएको र एक जना स्वीकृति नलिई बिदामा बसेको अभियोगमा कारबाहीमा परेका छन्।
कार्यालयमा उपस्थित नभएको कारण सेवाबाट हटाइनेमा पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा र रमेश प्रसाद पौडेल रहेका छन्।
त्यस्तै, स्वीकृति नलिई बिदामा बसेको भन्दै पदमेन्द्र प्रसाद श्रेष्ठलाई पनि सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले २०८३ कात्तिक २० गते गरेको निर्णयका आधारमा उनीहरूलाई सेवाबाट हटाइएको हो। सार्वजनिक सूचनाअनुसार उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि भने अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको छ।
मन्त्रालयले कर्मचारीको जिम्मेवारी, कार्यालयमा नियमित उपस्थिति तथा बिदासम्बन्धी प्रचलित नियम पालना नगरेको अवस्थामा विभागीय कारबाही हुने स्पष्ट गरेको छ।
