भारत–पाकिस्तान ‘ड्रोन युद्ध’ को चरणमा

टुरिजमफेस
काठमाडौं । यतिखेर भारत र पाकिस्तान एक अर्काले ड्रोन आक्रमण गरेको र त्यस्ता ड्रोनलाई खसालेको दावी गरिरहेका छन् । यसले भारत–पाकिस्तान द्वन्द्वको नयाँ अध्याय सुरु गरेको छ ।
‘भारत–पाकिस्तान द्वन्द्व एउटा नयाँ ड्रोन युगमा प्रवेश गरेको छ । जहाँ ‘अदृश्य आँखा’ र मानवरहित अचुक निसानाले संयम वा तनावको फैसला गर्नेछ । त्यसकारण जसले ड्रोन युद्ध जित्यो, उसले युद्ध जित्ने छ,’ यूएस नेवल वार कलेजका प्राध्यापक जहारा मातिसेक भन्छन् ।
भारतले प्रयोग गरेको ड्रोन इजरायलमा निर्मित भएको बताइएको छ । भारतले पाकिस्तानका कयौँ हवाइ प्रतिरक्षा प्रणाली ध्वस्त पारेको दाबी गरेको छ ।
पछिल्ला वर्षहरूमा लेजर गाइडेड क्षेप्यास्त्र तथा बम, ड्रोन र मानवरहित विमानहरू युद्धका प्रमुख हतियार बनेका छन् । यिनले आफ्नो पक्षका मानिसको ज्यान जोखिममा नपारी दुस्मनमाथि अचुक निसाना लगाएर सैन्य कारबाहीलाई चुस्त बनाउँछन् ।
त्यसमाथि ड्रोनलाई दुस्मनको हवाई प्रतिरक्षा प्रणालीलाई झुक्याउन पनि प्रयोग गरिन्छ । पहिले ड्रोनलाई पठाइन्छ । जसले गर्दा दुस्मनको रेडार प्रणाली सक्रिय हुन्छ । अनि ती प्रणाली ध्वस्त पार्न अरु ड्रोन वा क्षेप्यास्त्र प्रहार गरिन्छ ।
विज्ञहरूका अनुसार भारतको ड्रोन इजरायली प्रविधिमा आधारित छ । यसले अलग्गै विस्फोटक पदार्थ बोकेर लैजाने र आफैँ क्षेप्यास्त्र जसरी निसानामा ठोक्किएर विस्फोट हुने, दोहोरो काम गर्छ ।
अर्को हेरोन नामक ड्रोन पनि भारतसँग छ । जसले शान्तिकालमा निगरानीको काम गर्छ । आईएआई सर्चर एमके २ नाम ड्रोन १८ घण्टा र ३०० किमि टाढासम्म उड्न सक्छ ।
भारतले सानासाना ड्रोन ठूलो संख्यामा पठाएर दुस्मनको प्रतिरक्षा प्रणाली अस्तव्यस्त तुल्याउने दाउपेच समेत विकास गररहेको छ ।
पाकिस्तानसँग पनि धेरै र अनेक खालका ड्रोन छन् । आफैँले बनाएको र आयात गरिएको प्रविधिमा आधारित ड्रोन रहेको रक्षा विश्लेषक एजाज हैदर बताउँछन् ।
पाकिस्तानसँग चिनियाँ, टर्किस र घरेलु उत्पादनका ड्रोन छन् । जसमध्ये चिनियाँ सीएच–४, टर्कीको बेराक्तर र पाकिस्तानकै बुराक र शहपार नामक ड्रोन उल्लेखनीय छन् । हैदरका अनुसार पाकिस्तानको वायु सेनाले एक दशकयता ड्रोनलाई सैन्य कारबाहीमा एकीकृत गर्ने काम गरिरहेको छ ।
अहिले भारत र पाकिस्तानबीच ड्रोन हानाहान भइरहे पनि त्यो रुस–युक्रेन युद्धमा देखिएको भन्दा अलग खालको भएको विज्ञहरूको छ । युक्रेनमा सैन्य कारबाहीको केन्द्रीय तत्व नै ड्रोन बनिसकेको छ । दुवै पक्षले हजारौँ ड्रोन निगरानी र प्रहारमा प्रयोग गरिरहेका छन् ।
‘फाइटर जेट वा ठूला क्षेप्यास्त्रको सट्टामा ड्रोन खटाउनु अलि तल्लो तहको सैन्य विकल्प हो । मान्छेले चलाउने विमानले भन्दा ड्रोनले कम हतियार बोक्छ । त्यसैले एक हिसाबले ड्रोन हान्नु भनेको संयमित चाल हो। तर, त्यो बृहत् हवाइ आक्रमणको सुरुवात मात्र हो भने फेरि बिल्कुलै अलग कुरा हो,’ भारतीय रक्षा विश्लेषक मनोज जोशी भन्छन् ।
एजाज हैदर हालै पाकिस्तानले प्रहार गरेको ड्रोन पूर्ण क्षमताको प्रतिशोध नभई तत्कालको उत्तेजनाको जवाफ मात्र भएको बताउँछन् । ‘वास्तविक प्रतिशोधको हमलामा दुस्मनलाई झट्का दिने प्रयास हुने थियो,’ उनी भन्छन् ।
युक्रेन युद्धमा ड्रोनले लडाइँको प्रकृति नै बदलिदिएको छ । जबकि भारत–पाकिस्तान द्वन्द्वमा यसको भूमिका सीमित र प्रतीकात्मक हुने विश्लेषकहरूको आकलन छ । दुवै मुलुकले क्षेप्यास्त्र प्रहार गर्न मानवचालित विमान प्रयोग गरेका छन् ।
‘हामीले देखिरहेको ड्रोन युद्ध लामो समय टिक्दैन । यो ठूलो द्वन्द्वको सुरुवात मात्र हुन सक्छ । तनाव घट्ने या चर्किने दुवै संकेत यसले गर्न सक्छ,’ जोशी भन्छन् ।
‘ड्रोनले द्वन्द्व चर्काउने खतरा कम गर्दै निगरानी र आक्रमण गर्ने विकल्प दिन्छ,’ मातिसेक भन्छन्, ‘तर, ड्रोनले द्वन्द्व चर्काउने नयाँनयाँ बहाना पनि दिन्छ । खसाइएको हरेक ड्रोन, ध्वस्त पारिएको हरेक रडार लडाइँको बहाना बन्न सक्छ। ’ एजेन्सीको सहयोगमा