सगरमाथा आधार शिविरमा पर्यटनमन्त्री नेतृत्वको टोली, स्थलगत अनुगमन र संवाद कार्यक्रम सम्पन्न

टुरिजमफेस
काठमाडौं — सगरमाथा आरोहण सिजन सुरु भएसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल सगरमाथा आधार शिविर (बेस क्याम्प) पुगेर स्थलगत अनुगमन गरेको छ। नेपाल पर्यटन बोर्डको संयोजनमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखक, पर्यटन राज्यमन्त्री अरुण चौधरी, पर्यटन मन्त्रालयका निमित्त सचिव इन्दु घिमिरे, बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, पर्यटन विभागका महानिर्देशक डा. नारायणप्रसाद रेग्मी, र नेपाल माउन्टेनिएरिङ एसोसियसनका अध्यक्ष निमा नुरु शेर्पा सहभागी थिए।
कार्यक्रममा जलवायु परिवर्तन, हिमाली जीवनशैली, पर्वतारोहण श्रमिकको सुरक्षा, र पर्यटन नीतिमा समावेशी सुधार जस्ता विषयमा गहन छलफल गरिएको थियो। कार्यक्रममा कीर्तिमानी आरोही कामिरिता शेर्पा, आइसफल डाक्टर, गाइड, लियाजो अफिसर, श्रमिक तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।
मन्त्री पाण्डेले यही जेठ ७ गते ‘टुरिजम डाइलग’ आयोजना हुने जानकारी दिँदै सगरमाथा क्षेत्रका चुनौती, सम्भावना र समाधान विषयमा संवाद हुने बताए। “सगरमाथा र शेर्पा समुदायको आवाज नीति निर्माणको आधार बन्नेछ,” मन्त्री पाण्डेले भने, “आरोही कल्याणकारी कोष र सुरक्षा सम्बन्धी विषयहरू नयाँ पर्यटन ऐनमार्फत सम्बोधन हुँदैछ।” मे २९ को अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा ‘समिटर्स समिट’ आयोजना हुने पनि जानकारी दिइयो।
गृहमन्त्री लेखकले सगरमाथा र शेर्पा समुदाय नेपालको पहिचान भएको उल्लेख गर्दै उनीहरूको सुरक्षा र सम्मानमा राज्य प्रतिबद्ध रहेको बताए। “नेपाल सगरमाथा र शेर्पाले चिनिन्छ। तिनको सम्मानमा कमी हुन दिने छैनौं,” उनले भने।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले सगरमाथा क्षेत्रलाई सुरक्षित, व्यवस्थित र जिम्मेवार बनाउने दिशामा बोर्ड क्रियाशील रहेको बताए। “स्थानीय सहभागिता, श्रमिक कल्याण र वातावरणीय संवेदनशीलता हाम्रो कार्यदिशाको मूल मर्म हो,” उनले स्पष्ट पारे।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जलवायु परिवर्तनले हिमाली क्षेत्रहरूमा पारिरहेको प्रभावबारे चेतना फैलाउनु जरुरी रहेको बताए। उनले गाइड, भरिया लगायत श्रमिकहरूको सुरक्षा राज्यको प्राथमिकता बन्नुपर्नेमा जोड दिए। आरोहणमा संलग्न गाइड र समिटर्सहरूले सरकारको ध्यान विभिन्न प्राविधिक र व्यवस्थापकीय समस्यातर्फ खिचेका छन्। क्याम्प–४ मा मोबाइल सेटमा ‘चाइना टाइम’ देखिनु, ड्रोन उडाउँदा ‘प्रतिबन्धित क्षेत्र’ देखिनु, स्पष्ट डिजिटल म्यापिङको अभाव यी समस्याहरू समाधान गर्न सरकार र सम्बन्धित निकायलाई आवश्यक पहल गर्न सुझाव दिइएको छ।
समिटर्सले कार्यक्रममा १२ बुँदे सुझावपत्र पनि हस्तान्तरण गरेका छन्। सहभागीहरूले सगरमाथाको दीर्घकालीन संरक्षण, मानव केन्द्रित व्यवस्थापन र दिगो हिमाली पर्यटन विकासका लागि ठोस नीतिगत पहलकदमीको माग गरेका छन्।