सगरमाथा संवादमा स्वच्छ ऊर्जा उत्पादन क्षमतामा जोड

टुरिजमफेस
काठमाडौं । सगरमाथा संवाद अन्तर्गत शुक्रबारदेखि सुरु भएको पाँचौँ समानान्तर सत्रमा सरोकारवाला विशेषज्ञहरूले स्वच्छ तथा नवीकरणीय ऊर्जा स्रोतहरूको अधिकतम उपयोग र ऊर्जा उत्पादन क्षमताको वृद्धिमा जोड दिएका छन्।
‘भविष्यको ऊर्जाः स्वच्छ ऊर्जाको सदुपयोग’ शीर्षकको सत्रमा उनीहरूले जलवायु परिवर्तनको चुनौतीलाई मध्यनजर गर्दै स्वदेशी ऊर्जा स्रोतको प्रभावकारी उपयोग र ऊर्जा निर्यात प्रवर्द्धन आवश्यक रहेको बताए।
जलवायु संकटले ऊर्जा प्रणालीमा असर
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जलवायु परिवर्तनका कारण पानीको स्रोतमा कमी आउँदा जलविद्युत् उत्पादनमा असर परेको बताए।
“जाडो याममा स्रोत घट्दा भारतबाट विद्युत् आयात गर्नुपरेको छ,” उनले भने, “त्यसैगरी प्रसारण लाइन विस्तारका क्रममा स्थानीय प्रतिरोध ठूलो चुनौती बनेको छ — सबैलाई बिजुली चाहिन्छ, तर आफ्नै घरछेउ प्रसारण लाइन चाहिँ नचाहने मनोविज्ञानले अवरोध पुर्याएको छ।”
उनले कमजोर प्रसारण प्रणाली सुधार्न र उद्योग क्षेत्रको विद्युतीकरणका लागि भरपर्दो ऊर्जा पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए।
“एक लिङ्क बिग्रिँदा सिङ्गो प्रणाली बन्द हुने स्थिति छ,” शाक्यले भने।
निजी क्षेत्रको सहभागिता अपरिहार्य
शाक्यका अनुसार नेपाल विद्युत् प्राधिकरणसँग पर्याप्त वित्तीय स्रोत छैन, त्यसैले निजी क्षेत्रलाई आकर्षित गर्न स्पष्ट नियामक संरचना आवश्यक छ। “ऊर्जा पूर्वाधारमा निजी क्षेत्रको लगानी अनिवार्य भइसकेको छ,” उनले स्पष्ट पारे।
हरित लगानी र अन्तर्राष्ट्रिय साझेदारी आवश्यक
काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. अच्युतप्रसाद वाग्लेले हरित ऊर्जामा लगानी गर्न राज्य मात्र नभई निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारीको भूमिका अपरिहार्य भएको बताए।
“सार्वजनिक लगानी मात्र पर्याप्त छैन,” उनले भने, “हरित जलवायु मित्र लगानीलाई कार्यान्वयनमा ल्याउन अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्नैपर्छ।”
समुदाय–केन्द्रित ऊर्जा रूपान्तरणमा जोड
जलवायु परिवर्तन न्यूनीकरण कार्य प्लेटफर्म (केन्या) की निर्देशक डा. अदिति मुखर्जीले ऊर्जा रूपान्तरणको केन्द्रमा समुदायलाई समावेश गर्नुपर्नेमा जोड दिइन्।
“नेपालले ग्रामीण समुदायसँग प्रत्यक्ष साझेदारी गरेर जलविद्युत् रूपान्तरणको उत्कृष्ट अभ्यास देखाएको छ,” उनले भनिन्, “यसले न्यायसंगत ऊर्जामा पहुँच विस्तारमा सघाउ पुर्याउँछ।”
सौर्य ऊर्जामा सार्वजनिक कोषको अवधारणा
अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (IRENA) का महानिर्देशक फ्रान्चेस्को ला क्यामेराले सौर्य ऊर्जाबाट प्राप्त आम्दानीको एक हिस्सा सार्वजनिक कोषमा संकलन गरी विपन्न वर्गलाई लक्षित गर्नुपर्ने सुझाव दिए।
“ग्रिड प्रणालीको फाइदा सबैलाई एकैपटक पुग्दैन,” उनले भने, “सुरुवाती चरणमै पछि परेकाहरूलाई समेट्न सार्वजनिक कोषको प्रयोग गर्नुपर्छ।”
स्वच्छ ऊर्जा: विश्वव्यापी रूपान्तरणको लक्ष्य
सत्रका सहजकर्ता तथा एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीका प्राध्यापक शोभाकर ढकालका अनुसार स्वच्छ ऊर्जाको सदुपयोग भनेको सौर्य, वायु, जल, भू–तापीय र बायोमासजस्ता स्रोतको माध्यमबाट ऊर्जा सुरक्षा, जलवायु न्यूनीकरण र दिगो विकास सुनिश्चित गर्ने विश्वव्यापी प्रयास हो।