हावाहुरीले कैलाली र नवलपरासीमा ३ को मृत्यु, ७ घाइते

टुरिजमफेस
काठमाडौँ । हावाहुरीका कारण कैलाली र नवलपरासीमा तीन जनाको मृत्यु भएको छ । हावाहुरीकै कारण सात जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलका अनुसार हावाहुरीका कारण ढलेको रुखले किच्दा पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ७ का ३० वर्षीया मिरा बयम्बु र सोही वडाका ४० वर्षीय दुर्गाबहादुर पुनको मृत्यु भएको छ ।
उक्त घटनामा अन्य तीन जना घाइते भएका छन् । उनीहरू पानी पर्न लागेको बेला रोकिएको अवस्थामा रुख ढलेको थियो । त्यसैगरी कैलालीमा हावाहुरीले रुख ढल्दा राष्ट्रिय कलेज सुखडका पूर्वक्याम्पस प्रमुख कर्ण भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हावाहुरीले नवलपरासी, कैलाली, बारा, सर्लाही, चितवन, उदयपुर, सिराहा लगायतका जिल्लामा क्षति गरेको प्रहरीले जनाएको छ ।