अविरल वर्षाका कारण धनगढीमा २ हजार घर डुबानमा, सयौंलाई सुरक्षित स्थानमा सारियो

धागढीमा डुबानमा परेका विभिन्न स्थानहरुको फोटो ।
टुरिजमफेस
काठमाडौं । आइतबारदेखिको अविरल वर्षाका कारण धनगढीमा २ हजार घर डुबानमा परेका छन् । जलसतह लगातार बढ्न थालेपछि सयौं परिवारलाई सुरक्षित स्थानमा सारिएको स्थानीय डम्मर रावलले जानकारी दिए ।
डुबानमा परेका घरबाट निस्कन नसकेका आठ जनालाई प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा राखेको छ । बाँकी घरपरिवारका सदस्यलाई भने स्थानीयले नै सुरक्षित स्थानामा राखेका छन् ।
धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काका चारजना र धनगढीको बेली गाउँका चारजना गरी आठ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिवराज जोसीले जानकारी दिएका छन् ।
उनका अनुसार बेलीका सीताराम रानाको एकतले कच्ची घर डुबानमा परेपछि उनीसहित परिवारका चार जनालाई उद्धार गरेर नजिकै रहेको आफन्तको घरमा सारिएको छ । त्यसैगरी, धनगढी–१३ श्रीलङ्काका एकै परिवारका चार जनाको उद्धार गरेर नजिकैको आधारभूत विद्यालयमा राखिएको छ ।
गएराति देखिको भारी वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झन्डै दुई हजार घरमा पानी पसेको छ । जसमा धनगढीका १, ३, ४, ७, ११ र १३ नम्बर वडा वर्षाका कारण बढी प्रभावित भएको स्थानीयको भनाइ छ ।
जल तथा मौसम विज्ञान विभागले कैलाली कञ्चनपुरमा भारी वर्षा हुने पूर्वसूचना जारी गरेको थियो ।
धागढीमा डुबानमा परेका विभिन्न स्थानहरुको फोटो ।