नेपालमा विशिष्टीकृत बैंकको कति आवश्यकता ? पर्यटन क्षेत्रमा मात्र लगानी गर्ने बैंक भएको भए के हुन्थ्यो ?

बैंकिङ फ्युचर विषयमा इमानले आयोजना गरेको छलफलमा सहभागी विज्ञहरू ।
टुरिजमफेस
काठमाडौं । नेपालमा विशिष्टीकृत बैंकको पक्षमा विविधखाले आवाज सुनिँदै आएका छन् । विशिष्टीकृत बैंकले सम्बन्धित क्षेत्रमा राम्रो गर्न सक्छ भनेर नेपाल इन्फ्रास्टकचर बैंक (निफ्रा) को स्थापना पनि गरिएको छ ।
खासगरी पूर्वाधारको क्षेत्रमा लगानी गर्ने भनेर स्थापना गरिएको निफ्राको प्रगति के कस्तो हुँदैछ ? त्यो समीक्षाको क्रममा देखिएला । निफ्राबाहेकका अन्य बैंक तथा वित्तीय संस्थाले सबैखाले बैंकिङ सेवा उपलब्ध गराउँदै आएका छन् । तर केही समययता बैंकमा लगानीयोग्य पूँजी थुप्रिएको छ । यसरी पूँजी थुप्रिनुमा सबैखाले बैंकिङ सेवा प्रदान गर्दै आएका बैंकहरूले विशिष्टीकृत सेवा र लगानीको भेउ पाउन नसकेको आलोचना सुनिन्छ ।
उदाहरणका लागि पछिल्लो समयमा बैंकहरूले पर्यटन क्षेत्रमा लगानी वृद्धि गरेका छन् । तर पर्यटन क्षेत्रमा मात्र लगानी गर्ने बैंक तथा वित्तीय संस्था हुन सकेको भए के अहिले थुप्रिएर बसेको तरलताको थप सहज सदुपयोग हुन सक्थ्यो त ?
बैंकिङ क्षेत्रमा काम गरेर लामो अनुभव बटुलेका अनलराज भट्टराई नेपालमा बैंकिङ क्षेत्रको सुधारका लागि ‘नियो बैंकिङ’ आवश्यक रहेको बताउँछन् । बैंकिङ क्षेत्रको विद्यमान कानूनी र प्रविधि सुधारका लागि ‘नियो बैंकिङ’ आवश्यक रहेको उनको तर्क छ । ‘अहिले सञ्चालनमा रहेका सबै वाणिज्य बैंकहरूको पूँजी ७ सय अर्ब हुनु र तिनले ५८ सय अर्ब लगानी गर्नुले पनि सुधारको आवश्यक देखाउँछ,’ उनी तर्क गर्छन् ।
नेपालमा १९९४ कात्तिक ३० गते पहिलोपटक नेपाल बैंक स्थापना भएपछि बैंकिङ क्षेत्रमा थुप्रै परिवर्तन भएका छन् । पहिले पहिले सर्वसाधारण बैंकमा पुग्नै पर्ने बाध्यता थियो भने अब बैंक सर्वसाधारणको घरमा पुग्नुपर्ने अवस्था आइरहेको छ । तर यति भइरहँदा पनि छिमेकी मुलुक भारत, चीनलगायत अन्य देशको तुलनामा नेपालका बैंकले सुधार गर्नुपर्ने पक्ष थुप्रै रहेको विज्ञहरूको धारणा छ ।
नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले बहुदलीय व्यवस्थासँगै नेपालमा बैंक तथा वित्तीय संस्था स्थापना हुने क्रम बढे पनि कर्पोरेट सस्कृतिको विकास हुन नसकेको बताए । अहिले बैकिङ क्षेत्रको आकार बढे पनि राष्ट्रिय अर्थतन्त्रमा कत्तिको योगदान पुगेको छ भन्ने कुरा महत्वपूर्ण रहेको बताए ।
‘विद्यमान बैंक तथा वित्तीय संस्थाको तर्फबाट हुने पूँजी निर्माण घट्दो छ,’ उनले भने, ‘त्यसैले अब निफ्राजस्तै विशेष क्षेत्रमा लगानी गर्ने वित्तीय संस्था स्थापना हुँदा केही सुधार हुन्छ कि ?’ नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना भने मर्जरको नीति लिइरहेको केन्द्रीय बैंकले तत्काल थप बैंक चाहिन्छ भन्न नसक्ने बताइन् ।
अहिले एकातिर जनसंख्याको तुलनामा भइरहेका बैंक तथा वित्तीय संस्थाको संख्या धेरै नै मानिन्छ भने अर्कोतिर भएका वित्तीय संस्थाको काम गर्ने प्रकृति र रुची एकैखाले हुँदा उनीहरूको औचित्य माथि प्रश्न उठ्दै आएको छ । अहिले नेपालको बैंकिङ क्षेत्र यस्तै पक्षमा रुमलिरहेको छ । अहिले उठिरहेको प्रश्नमा प्रष्टता हुन सके मात्र नेपालका बैंक तथा वित्तीय संस्थाले राम्रो काम गर्न सक्छन् र अनि मात्र पूँजी निर्माणमा मद्धत पुग्नका लागि निक्षेपको सही सदुपयोग हुन सक्छ ।
बैंकिङ फ्युचर विषयमा इमानले आयोजना गरेको छलफलमा सहभागी विज्ञहरू ।