त्यो अष्टिम्की, यो अष्टिम्की

बुनु थारू
काठमाडौं । थारु समुदायले पनि अष्टिम्की पर्वलाई रमझमका साथ मनाए । तर अष्टिम्की चित्रकला मौलिकता हराउँदै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
पहिला पहिला कृष्ण जन्माष्टमी नजिकिँदै गर्दा पश्चिम नेपालका थारू बस्तीमा अष्टिम्कीको तयारी सुरु हुन्यो । चित्र कोर्नका लागि प्राकृतिक रङको जोहो गरिन्थ्यो । हरियो रङका लागि सिमी, कत्थक रङका लागि विशेष काठ, रातो रङका लागि पवईं साग । कालो रङका लागि त सुकेको लौका आगोमा डढाउनुपर्थ्यो ।
थारू समुदायमा विशेषगरी हरियो, कालो, सेतो र रातो रङको प्रयोग हुन्छ । अष्टिम्कीमा पनि यिनै रङ प्रयोगमा आउँछन् । दुःख गरेर सङ्कलन गरिएका प्राकृतिक रङलाई हातैले घरका भित्तामा अष्टिम्की चित्र बनाएर उनीहरू अष्टिम्की पर्व मनाउँथे । तर, अहिले यसको मौलिकता हराएको छ । प्रिन्ट गरिएका अष्टिम्कीका चित्र टाँसेर पूजा गर्ने चलन हाबी भएको छ । यसले अष्टिम्की चित्रकलाको मौलिकपन नै हराउँदै जानेमा विज्ञहरू चिन्तित छन् ।
हरेक वर्ष कृष्ण जन्माष्टमीका दिन खासगरी पश्चिमा थारू समुदायले ‘अष्टिम्की पर्व’ मनाउने गर्छन् । यो पश्चिमा थारूहरूको मौलिक पर्व हो । यो दिन अष्टिम्की चित्र बनाएर व्रतालु महिलाले पूजा गर्ने चलन छ ।
मिथिला चित्रकलासँग मिल्दोजुल्दो अष्टिम्की चित्र व्यावसायिक बन्न त परै जाओस् घरका भित्ताहरूमा पनि देखिन छाडेको छ ।
अष्टिम्की चित्रको महत्व
अष्टिम्की गीतको पुस्तक प्रकाशन गरिसकेका शत्रुघन चौधरीका अनुसार अष्टिम्की थारूहरूको विभिन्न प्रदर्शनकारी सौन्दर्य कलामध्ये एक हो, जुन प्राकृतिक सौन्दर्य र जीवको गहिरो सम्बन्ध रहेको चित्रकलामार्फत व्यक्त हुन्छ । ‘अष्टिम्कीका दिन बिहानै नुवाइधुवाइ गरी निराहार व्रत बसी महिला–पुरुषहरू घरको बहरी (पिँढी) को उत्तरतर्फको भित्तामा हस्तचित्र बनाउने गर्छन्, जहाँ मानवकृति र प्राकृतिक स्वरूप बनाइएका हुन्छन्,’ , उनी भन्छन् ’सृष्टिको कथादेखि पशुपन्छी, जीवजन्तुको चित्र बनाइएको हुन्छ । यसले थारूहरूको जीवनशैली र जीवजीविकाको सम्बन्ध देखाउँछ ।’
अष्टिम्कीबारे विद्यावारिधि गरेका थारू संस्कृतिविद् डा. कृष्णराज सर्वहारीका अनुसार अष्टिम्की चित्रकला एक कला मात्र होइन, समग्र थारू समुदायको उत्पत्ति, जीवनशैली, दर्शन र संस्कृतिको प्रतिरूप हो । उनी भन्छन्, ‘अष्टिम्कीको गीत गाउँदै अष्टिम्की चित्र बनाइन्छ । गीतमा भनिएको कुरा चित्रमा झल्किन्छ । चित्रमा सूर्य र चन्द्रको उपस्थितिले थारूहरू प्रकृतिपूजक रहेको प्रस्ट बुझिन्छ ।’
सर्वहारीका अनुसार अष्टिम्की चित्रकलामा ब्रह्माण्ड सृष्टिसँग जोडिएका सबै पक्ष समावेश हुन्छन् । थारूहरूको कृषिकर्म– हलो जोतेको, डोलीमा बेहुला–बेहुली बसेको, घना जंगल, पशुपन्छी आदि सबैले थारू जनजीवनको विविध पाटोलाई चित्रमार्फत उजागर गर्छन् । यी चित्र भित्ता वा डेहरी (भकारी) मा बनाइन्छन् र साँझपख पूजाअर्चनापछि मात्र फलफूल खाने गरिन्छ ।
असार पहिलो साता सार्वजनिक भएको पुस्तक ‘बुढनी’ को आवरणमा पनि अष्टिम्की कला झल्किएको छ । यसका लेखक इन्दु थारू अष्टिम्की चित्रकला थारू समुदायका पुर्खाले पहिलेदेखि नै बनाउँदै आएकाले पुस्तकमा मौलिक कलालाई स्थान दिएको बताउँछन् ।
‘थारू समुदायमा चित्र बनाउने आफ्नै शैली छ । बाघ, मयूर होस् वा अन्य जनावर र पन्छी । ज्यामितीय आकारमा बनाइएका यी चित्र हेर्दा स्पष्ट हुन्छ कि यो थारूहरूको कला हो । यो बनाउने तरिका पनि विशिष्ट छ,’ उनी भन्छन् । अष्टिम्की चित्र हेर्नेबित्तिकै थारू समुदायको सांस्कृतिक पहिचानसँग जोडिने अनुभूति आफूलाई हुने उनको भनाइ छ ।
अष्टिम्की चित्रकला प्रवर्द्धनमा स्थानीय तह
संस्कृति जगेर्ना र थारू लोक चित्रकलाको प्रवर्द्धनमा स्थानीय तहले आ–आफ्नो तर्फबाट पहल गरिरहेका छन् । थारू बहुल क्षेत्रका पालिकाहरूमा अष्टिम्की चित्रकलाको प्रवर्द्धन गर्न कार्यशाला, प्रतियोगिता, गोष्ठीहरू सञ्चालन भइरहेका छन् ।
बर्दियाको बारबर्दिया नगरपालिकाले आफ्नो पालिकामा लागू गरेको स्थानीय पुस्तक ‘बारबर्दिया गौरव’मा अष्टिम्कीबारे पाठ राखेको छ । यसका साथै, त्यहाँ अष्टिम्कीको अवसरमा कक्षा ४ देखि माथिका विद्यार्थीलाई अष्टिम्की चित्र बनाउने अभ्यास पनि गराइन्छ । ‘बारबर्दिया गौरव’ पुस्तकका लेखकमध्ये एक नरेशलाल कुसुम्याका अनुसार पाठ्यक्रम, कार्यशालालगायत विभिन्न प्रयासले यो चित्रकलालाई दिगो बनाउन र प्रवद्र्धन गर्न सकिन्छ ।
यसै साता काठमाडौंमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र अग्रासन थारू महिला समाजको सहकार्यमा थारू अष्टिम्की चित्रकला कार्यशाला आयोजना गरियो । जसमा काठमाडौंमा रहेका थारू युवाले उत्साहपूर्वक सहभागिता जनाएका थिए ।
कैलालीको जानकी गाउँपालिकाले त आफ्नो कार्यालय भवन कक्ष अष्टिम्की चित्रकलाले सुसज्जित बनाएको छ । मौलिक हस्तकला चित्रले पालिकाकै शोभा बढाएको छ । पालिकाले बर्सेनि अष्टिम्कीको सेरोफेरोमा अष्टिम्की चित्रकला कार्यशाला तथा प्रतियोगिता आयोजना गर्छ । साथै पालिकाले लोककलाको हब भनेर नै घोषणा गरेको छ ।
थारू परम्परालाई जगेर्ना गर्न प्रत्येक वर्ष अष्टिम्कीका अवसरमा कार्यशाला सञ्चालन गर्दै आएको बताउँछन्, जानकी गाउँपालिका, कैलालीका अध्यक्ष गणेश चौधरी । ‘पुराना पुस्ताबाट प्राप्त सीप र ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले अष्टिम्की चित्रकला बनाउने परम्परालाई जोगाउन कार्यशाला गर्दै आएका छौं,’ उनी भन्छन्, ’कार्यशालामा सहभागीलाई भित्तेचित्र कसरी बनाउने, यसको महत्त्व के छ भन्नेबारेमा सिकाइन्छ ।’
जानकी गाउँपालिकाले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा चित्रमा रङको संयोजन कसरी गर्ने, थारू सीप र परम्परासँग कसरी जोड्ने भन्ने विषयमा काम गर्दै आएको छ । अध्यक्ष चौधरीका अनुसार थारू समुदायको अष्टिम्की चित्रकलामा संरक्षण र व्यवसायीकरणको पहलको आवश्यकता छ । चित्रकलालाई भविष्यमा कसरी बजारीकरण गर्ने भन्ने विषयमा योजना बनाइरहेको उनले बताए । मिथिला चित्रकलाजस्तै अष्टिम्कीले पनि बजार पाओस् भन्ने चाहना रहेको उनको भनाइ छ ।
यसका लागि गाउँपालिकाले अष्टिम्की चित्रकलालाई बेलाबेलामा प्रदर्शनीमा राख्ने र आगामी दिनमा कोसेली घर स्थापना गरेर बिक्री गर्ने सोच बनाएको छ ।
यसैगरी, बर्दियाको ठाकुरबाबा नगरपालिकाअन्तर्गत ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानले पनि यस वर्ष तीनदिने अष्टिम्की चित्रकला कार्यशाला आयोजना गरेको छ । दुई दर्जन सहभागीले प्रशिक्षकहरूबाट सुन्दर अष्टिम्की चित्र बनाएका छन् । यसलाई अरू वर्ष पनि निरन्तरता दिइने प्रतिष्ठानका सचिव खगेन्द्र नेपाल बताउँछन् ।
बर्दियाकै बारबर्दिया नगरपालिकाले थारू लोककला अष्टिम्की जोगाउन तथा यसलाई व्यापकता दिन यस वर्ष पालिकास्तरीय अष्टिम्की टिक्ना (पूजा गर्ने) कार्यक्रम गरेको छ । यसका साथै, नगरपालिकाले अतिरिक्त क्रियाकलापअन्तर्गत परम्परागत सीप हस्तान्तरणसँग सम्बन्धित विभिन्न कार्यक्रम विद्यालयहरूमा गर्दै आएको छ ।
नगरपालिकाका प्रशासकीय अधिकृत टीकानाथ गोसाईंले परम्परागत सीपलाई जोगाउने उद्देश्यले अष्टिम्की चित्रकला, डुना, टपरी, ढकिया बनाउनेलगायत कार्य विद्यालयलले शैक्षिक क्यालेन्डरमै समावेश गरेको बताए । आगामी दिनमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा अष्टिम्की कार्यशाला गर्ने योजना रहेको उनको भनाइ छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले अष्टिम्की चित्रकला जोगाउन र प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेले संस्कृति र परम्परा जोगाउने कार्य चुनौतीपूर्ण बन्दै गएको बताए । ’यसको संरक्षणका लागि सम्बन्धित समुदायभित्र पुस्तान्तरण हुन आवश्यक छ,’ उनले भने, ’यही आवश्यकतालाई मध्यनजर गर्दै प्रतिष्ठानले झकझक्याउने ठाउँमा जति सम्भव हुन्छ, सहकार्यको प्रयास बढाइरहेको छ ।’
अष्टिम्की चित्रकला कार्यशालमा प्रतिष्ठानले गरेको सहजीकरणको प्रभाव राम्रो देखिएको उहाँको अनुभव छ । ’लोककलाको बजारीकरण र दीगो विकासका सम्भावनालाई ध्यानमा राख्दै काम सुरु गरिएको छ । यस्ता कार्यक्रमले थारू समुदायको मौलिक शैली, लोककथा, अष्टिम्की चित्र तथा अन्य लोक चित्रकलालाई जनजीवन र सामाजिक रूपान्तरणसँग जोड्ने प्रयास गरेका छन्,’ उनले भने ।
प्रशिक्षण कार्यक्रममार्फत स्थानीय कलाकार तथा नयाँ पुस्तालाई थारू चित्रकलाको महत्व र सीप हस्तान्तरण गरिँदै आएको छ । यसबाट राम्रो प्रभाव र सम्भावना देखिएको काफ्ले बताउँछन् । उनका अनुसार, लोकचित्रकलाको मौलिकता जोगाउँदै पुस्तान्तरण र दीगो विकासका लागि आम्दानीको स्रोतका रूपमा कसरी विकास गर्ने भन्नेबारे सोच बनाउन आवश्यक छ ।
अष्टिम्की चित्रकलामा थारूहरूको जीवनदर्शन स्पष्ट झल्किन्छ । यसमा थारू लोककला बाँचेको छ । यद्यपि, नयाँ पुस्तालाई यसको महत्त्व अझै पनि बुझाउन सकिएको छैन । चित्र बनाएर आम्दानी गर्न सकिन्छ भन्ने सोचको अभावले पनि यसले व्यवसायीकरणको बाटो लिन नसकेको कलाकार मित्थु थारु बताउँछन् ।
‘पहिले ट सिरिजल जल थल धरती, डुसरे ट सिरिजल कुश कइ डाभ’ भन्ने श्लोकबाट अष्टिम्की गीतको सुरूआत हुन्छ । अर्थात्, पहिले पृथ्वी जलैजल थियो, पछि स्थल बन्यो । कुश भन्ने वनस्पतिको पहिलो सृष्टि भयो । यसरी सृष्टिको सिर्जनाको कथाबाट अष्टिम्की गीतको प्रारम्भ भएको छ ।
डा. सर्वहारी अष्टिम्की चित्रलाई अष्टिम्कीको अवसरमा मात्र सीमित नराखी अन्य समय पनि अभ्यासमा ल्याउन सकिए थारू कलाकारलाई अगाडि बढ्न अवसर मिल्ने बताउँछन् । प्रवद्र्धनमा सबैले आफ्नो स्थानबाट साथ दिए लोककला लोप हुन सक्ने खतराबाट जोगिने उनको भनाइ छ ।
संस्कृति बचाउने मनसायले मात्रै होइन, यसलाई आर्थिक अवसरमा परिणत गर्न पनि जरुरी छ । जसरी मिथिला चित्रकलाले विश्वमा नै आफ्नो पहिचान बनाउन सफल भएको छ, अष्टिम्की कला भने घरकै भित्ता र पोस्टरमा सीमित हुन पुगेका छन् । यसको प्रवद्र्धनका लागि प्रचार–प्रसार, कार्यक्रम, प्रदर्शनी, अभियान तथा कार्यशालामार्फत नयाँ पुस्तालाई सीप हस्तान्तरण गर्नमा भने ढिला भइसकेको छ । रासस