हिमाली क्षेत्रमा तीन दिन पदयात्रा नगर्न अध्यागमन विभागको आग्रह
काठमाडौं । उच्च पहाडी तथा हिमाली क्षेत्रमा प्रतिकूल मौसमका कारण हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढ्ने भएपछि अध्यागमन विभागले पर्यटकलाई तीन दिन पदयात्रा नगर्न आग्रह गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक १२, १३ र १४ गते उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको सम्भावना छ। सम्भावित प्राकृतिक विपद्लाई मध्यनजर गर्दै विभागले पर्यटकलाई जोखिमयुक्त क्षेत्रको भ्रमण तथा पदयात्रा स्थगित गर्न अनुरोध गरेको हो।
विभागले मंगलबार सूचना जारी गर्दै उक्त अवधिमा निषेधित उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरेको छ। पदयात्रामा रहेका पर्यटकलाई पनि सुरक्षित स्थानमा बस्न र आवश्यक सतर्कता अपनाउन भनिएको छ।
जोखिम न्यूनीकरणका लागि निषेधित क्षेत्रमा पदयात्रा गर्न आवश्यक पर्ने अनुमति पत्रसमेत जारी नगरिने विभागले जनाएको छ। यो व्यवस्था मंगलबारदेखि नै लागू हुने सूचनामा उल्लेख छ।
अध्यागमन विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले जारी गरेको सूचनामार्फत ट्रेकिङ एजेन्सी, पदयात्री, पथप्रदर्शक तथा सम्बन्धित निकायलाई निर्देशन पालना गर्न र गराउन आग्रह गरिएको छ।
सम्भावित प्राकृतिक जोखिमबाट पर्यटकको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित सबै पक्षलाई सचेत रहन तथा आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।
