पर्यटकीय गन्तव्य, घुम्नैपर्ने ठाउँ बर्येडाँडा झाँगाझोली पार्क
टुरिजमफेस
तनहुँ । कुनै समयमा मानिसहरु एक्लै हिँड्न डराउँथे । घना वनजङ्गलका कारण वनमा घाँस र दाउराका लागि मानिसहरु समूहमा जाने गर्दथे तर अहिले विकाससँगै बर्येडाँडाको आमूल परिवर्तन भएको छ । यहाँको झाँगाझोली पार्कले धेरैलाई मोहित पार्दछ ।
निजी प्रयासमा शुक्लागण्डकी नगरपालिका-६ मा रहेको झाँगाझोली पार्क निर्माण भएसँगै यस क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा यस क्षेत्रको विकास हुँदै गएको छ । पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट दुई दशमलव पाँच किलोमिटर दूरीमा पर्ने यस पार्कमा घुम्नका लागि मानिसहरु विभिन्न जिल्लाबाट आउने गरेका छन् । यहाँ सुन्दर र शान्त वातावरणमा बस्न, खाना र घुम्ने व्यवस्था भएसँगै सबै उमेर उमेरका मानिसहरुको आकर्षण बढेको हो ।
सहरको कोलाहलबाट मुक्ति पाउनका लागि राजमार्गबाट नजिक दूरीमा रहेको यस पार्क नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको व्यास नगरपालिकाका पूर्वनगरप्रमुख ताराप्रसाद श्रेष्ठले बताए । उनले भने, “मैले नजिकबाट नियाल्दा सुन्दर, शान्त, मनोरमका साथै धार्मिक र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले निर्माण गरिएको पार्कले सबैको मनमा आनन्दको अनुभूति दिलाउँछ ।”
पर्यटनको प्रचुर सम्भावना रहेको यस झाँगाझोली तीनखोले मोटरमार्ग हुँदै जान सकिन्छ । झाँगाझोलीमा तीन जनाको रु डेढ करोड लगानीमा करिब २० रोपनी क्षेत्रफलमा आकर्षक पार्क र रिसोर्ट निर्माण गरी सञ्चालनमा ल्याइएको छ । यहाँ निर्माण गरिएका पार्कको साथै उत्तरतर्फ रहेको हरियाली जङ्गल र कुम्लेखोलाको कलकल आवाजले परिवारसहित घुम्न जानेहरुका लागि एउटा उत्कृष्ट गन्तव्य बनेको नेपाल बार एसोसिएसन तनहुँका पूर्वअध्यक्ष अधिवक्ता भानुभक्त सुवेदीले बताए ।
यहाँ दैनिक ३०० देखि ४०० सम्म आन्तरिक पर्यटकहरु भ्रमणमा आउने गर्दछन् । यहाँको मनोरम दृश्यले आफूलाई आकर्षण गरेको पहिलोपटक घुम्न आएका व्यास नगरपालिका–१ भादगाउँ निवासी हरिप्रसाद भट्टराईले बताए । उनी भन्छन्, “तीनखोले मन्दिरमा दर्शन गर्न आएको समयमा हेर्न भनेर यहाँ आएको हुँ, अर्को पटक एक दिन बास बस्नेगरी समय मिलाएर आउने योजना बनाएको छु ।”
जिल्लाकै भिमाद नगरपालिकाबाट आउनुभएका राम बानियाँले पारिवारिक वातावरणमा घुम्नका लागि आनन्दको ठाउँ रहेको बताए । उनले भने, “यहाँको प्राकृतिक मनोरम दृश्यले जो कसैको मन खिच्ने किसिमको भएकाले मनमा शान्ति र आनन्दको अनुभूति गर्न सकिनेछ ।”
विभिन्न साहसिक खेलहरुका लागिसमेत पनि यो क्षेत्र उपयुक्त मानिएको छ । घनाजङ्गलको भएकाले यहाँ आध्यात्मिक गतिविधिका लागि ध्यान केन्द्रलगायत विविध प्राकृतिक पर्यटकीय आकर्षण केन्द्र बनाउन सकिने झाँगाझोली सञ्चालक शङ्करप्रसाद अधिकारीले बताए । प्राकृतिक सुन्दरताले भरिपूर्ण यस क्षेत्रको पर्यटन विकासमा ध्यान दिने हो भने गण्डकी प्रदेशकै एक उत्कृष्ट पर्यटन गन्तव्य बन्न सकिने उनको बुझाइ छ ।
