भियतनामी उपराष्ट्रपतिको नेपाल भ्रमण : व्यापार, पर्यटन र सांस्कृतिक सहकार्यमा जोड

टुरिजमफेस
काठमाडौं । भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन तीनदिने औपचारिक नेपाल भ्रमणमा छिन् । नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा उनी काठमाडौँ आएकी हुन् ।
भियतनामका लागि गैरआवासीय नेपाली राजदूत धनबहादुर ओली उच्चस्तरको यस भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा गर्छन् । नेपाल र भियतनामबीच १९७५ मे १५ मा औपचारिक दौत्य सम्बन्ध स्थापना भएको थियो ।
त्यसयता दुवै मुलुकबीच पारस्परिक सद्भाव र विविध क्षेत्रमा सहकार्य हुँदै आएको छ । दुई देशबीच यसप्रकारका उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट सरकारीस्तरमा मात्रै नभइ व्यापार, व्यवसाय र जनस्तरमा समेत द्विपक्षीय सम्बन्ध सुदृढ तुल्याउन योगदान पुग्ने विश्वास गरिएको छ ।
राजदूत ओलीले भने, “दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठको सन्दर्भमा भियतनाका उपराष्ट्रपतिबाट नेपाल भ्रमण भएको छ, यो उच्चस्तरीय भ्रमणबाट नेपाल र भियतनामबीच व्यापार, लगानी, पर्यटन र सांस्कृतिक आदान–प्रदानलगायत आपसी सहकार्यका विविध क्षेत्रलाई नयाँ आयाममा लैजान पहल गर्नुपर्छ ।”
भियतनामका उपराष्ट्रपति सुआनले नेपाल भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति यादव, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट तथा विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्र र स्वयम्भूनाथको भ्रमण गर्ने कार्यक्रम छ ।
दुई देशबीच दौत्य सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमा यसवर्ष दुवै मुलुकमा विविध कार्यक्रम आयोजना गरिएका छन् । नेपालले आउँदो अक्टोबरमा भियतनामको हनोइमा विशेष कार्यक्रम आयोजना गर्ने राजदूत ओलीले जानकारी दिए । कार्यक्रममा कृषि, पर्यटन, लगानी, व्यापार र सांस्कृतिक आदान–प्रदानलाई प्राथमिकताका साथ अघि बढाइने योजना छ ।