जलवायु परिवर्तनको असर : हिमाली जिल्लाहरु नराम्ररी प्रभावित

टुरिजमफेस
मुस्ताङ । विश्वमै जलवायु परिवर्तन असर एक चिन्ताको विषय बनिरहँदा नेपालका हिमाली जिल्लाहरु यसको प्रत्यक्ष/ परोक्ष मारमा पर्दै आइरहेका छन् । हिमाली जिल्लाहरुमा मौसमी तापमान दर बर्सेनि वृद्धि भइरहेको छ । जलवायुको असर हिमाली जिल्लाहरुमा देखिँदै गर्दा मुस्ताङमा जलवायु परिवर्तनको असरका कारण यहाँको वातावरणीय सन्तुलन तथा पारिस्थितिक प्रणालीमा नराम्ररी प्रभावित तुल्याएको छ ।
दश वर्षअघिसम्म हिउँदयामको अनुकूल समयमा हिउँ पथ्र्यो । हिउँले यहाँ तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङका डाँडाकाँडा र बस्ती सबै हिउँले पूरै सेताम्मे हुन्थे । यहाँ हिउँद यामको पुस र माघ महिनामा तल्लो मुस्ताङमा दुई फिट र उपल्लो मुस्ताङमा पाँच फिटसम्म हिउँ परेको थियो । २०७५ सालमा हिउँदयाममा अत्यधिक हिउँ पर्दा उपल्लो मुस्ताङमा सयौँ याक चौँरी, भेडाच्याङ्ग्राहरु खर्क र गोठमै हिउँले पुरिएर मरे । तल्लो मुस्ताङको नमखुलेंक र थासाङको विभिन्न खर्कहरुमा पनि स्थानीयका दर्जनौँ याकचौँरी हिउँमा पुरिएर मरेका थिए । त्यतिबेला हिमपातले क्षति पुगेका पशुपालक किसानलाई सम्बन्धित स्थानमै पुगेर गण्डकी प्रदेश सरकारले आंशिक राहत वितरण गरेको थियो ।
हिउँ पर्दा पनि सास्ती, हिउँ नपर्दा पनि सास्ती यहाँका बासिन्दाले भोग्नु परेको एक ज्वलन्त समस्या र चुनौती हो । हिउँदयाममा उपल्लो मुस्ताङका बासिन्दा हिउँ र अत्यधिक चिसो छल्न तल झर्ने सदियौँ वर्षदेखिको प्रचलन हो । अत्यधिक चिसो र हिमपातको असरले उपल्लो मुस्ताङका बासिन्दाको जनजीवन निकै कष्टपूर्ण हुन्थ्यो । चिसो र हिउँका कारण घरका सेफ्टी ट्याङ्की, धारा र सिँचाइ कुलो जमेर बरफ बन्थ्यो । उपल्लो मुस्ताङमा कात्तिक महिनादेखि फागुनको अन्तसम्म चरणबद्ध रुपमा हिउँ पर्ने गरेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङ बताउँछन् ।
यहाँ जलवायु परिवर्तनका कारण कुनै वर्ष भारी हिमपात हुने, कुनै वर्ष आंशिक हिमपात हुने र कुनै वर्ष हिमपात हुन सकेको छैन । पृथ्वीको तापमान वृद्धिसँगै मुस्ताङका शाखा नदीहरुमा विपद् जोखिमको उच्च सम्भावना बढेको छ । यहाँका शाखा नदीका मुहानहरुमा हिउँ पग्लिएर वा हिउँका ढिस्का खसेर ठूलो लेदो र गेग्र्यानसहित बाढी आउने गरेका कारण कागबेनीमा ठूलो बाढी आयो । बाढीले कोरला सडकको निर्माणाधीन पक्की पुलसहित कागबेनीका आधा दर्जन बढी घरहरुमा ठूलो क्षति पुग्यो । बाढीले कागबेनी श्राद्धस्थल, स्याउबारीमा क्षति र पशु चौपाया बगाउँदा करोडौँको नोक्सानी पुर्यायो ।
थासाङ क्षेत्रमा पटकपटक हिउँपहिरो जाने क्रम रोकिएको छैन । हिउँपहिरो जाने क्रमले त्यस क्षेत्रको चरन क्षेत्र तथा थासाङ क्षेत्रका केही बस्ती हिउँ पहिरोको उच्च जोखिममा छन् । दुई वर्षअघि मार्फास्थित बागवानी केन्द्र नजिकैको सानो खोलामा भेल बाढी आउँदा फार्मका खेतीयोग्य स्याउ बारीमा लेदो र गेग्र्यान पसेर क्षति पुर्याएको थियो ।