काठमाडौं— नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा पत्र बुझाएका हुन्।
पार्टीका एक पदाधिकारीका अनुसार थापाले दिएको राजीनामाबारे छलफल गर्न केन्द्रीय समिति बैठक बिहीबारका लागि बोलाइएको छ। उक्त बैठकले राजीनामा स्वीकृत गर्ने वा नगर्ने विषयमा निर्णय गर्नेछ। हालसम्म राजीनामा पत्र सार्वजनिक गरिएको छैन।
सभापति थापाले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भएको पराजयको नैतिक जिम्मेवारी लिँदै पद छाड्ने निर्णय गरेका हुन्। उनी सर्लाही–४ बाट पराजित भएका थिए। सो निर्वाचनमा थापासहित पार्टीका शीर्ष तहका धेरै पदाधिकारी पराजित भएका थिए।
विशेष महाधिवेशनपछि छोटो अवधिमै निर्वाचनमा होमिएको कांग्रेसभित्र यसअघि नै असन्तुष्टि बढिरहेको थियो। निवर्तमान सभापति शेरबहादुर देउवा समूह उक्त महाधिवेशनमा सहभागी नभएको र त्यससम्बन्धी विवाद अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ।
निर्वाचनमा कमजोर प्रदर्शनपछि थापामाथि आलोचना चुलिँदै गएको थियो र उनको राजीनामा मागसमेत उठिरहेको थियो। यसअघि नै उनले उपसभापति शर्मासँगको भेटमा पद छाड्ने संकेत दिएका थिए।