दुर्लभ पन्छी चिरकालिज भेटिएपछि धवलागिरिमा थालियो संरक्षण अभियान
टुरिजमफेस
म्याग्दी । धवलागिरि गाउँपालिका–३ दर र वडा नं ४ मुदीमा दुर्लभ पन्छी चिरकालिज भेटिएपछि संरक्षण अभियान थालिएको छ ।
नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनका क्रममा मुदी र दरमा चिरकालिजको बासस्थान रहेको भेटिएको हो । अध्ययनमा सहभागी विराट रजकका अनुसार मुदीमा तीन र दरमा सात जोडी चिरकालिज भेटिएका छन् ।
“एक वर्षअघि गरेको अध्ययनका क्रममा दर र मुदीमा चिरकालिज भेटिएपछि संरक्षणका लागि विद्यालय र समुदायस्तरमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेका छौँ”, उनले भने, “दुर्लभ पन्छी भएकाले चिरकालिजको महत्व जानकारी गराएर सङ्ख्या वृद्धि र संरक्षणको पहल थालिएको हो ।”
मुदीको वुत्तिविकास र मुनाको धवलागिरि माविका विद्यार्थीलाई चिरकालिजका बारेमा अभिमुखीकरणका साथै हाजिरी जवाफ प्रतियोगिता भएको छ ।
रानीखोला र दरखोला सामुदायिक वन उपभोक्ता समूहका पदाधीकारी, सदस्य र स्थानीयवासीलाई दरमा संरक्षण शिक्षासम्बन्धी प्रशिक्षण दिइएको छ ।
