रास्वपामा बालेन शाहको भूमिका थप बलियो, वरिष्ठ नेतामा पुनः मनोनयन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन शाहलाई पार्टीको वरिष्ठ नेताका रूपमा पुनः जिम्मेवारी दिएको छ। केन्द्रीय समिति बैठकले उनलाई सभापतिपछिको दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेतामा मनोनयन गरेको हो।
पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा गरिएको उक्त निर्णयसँगै शाह पार्टीको शीर्ष नेतृत्व तहमा अझ प्रभावशाली भूमिकामा रहने भएका छन्। रास्वपाको विधानअनुसार केन्द्रीय समितिले सभापतिको सिफारिसमा विभिन्न पदाधिकारी तथा केन्द्रीय सदस्यहरू मनोनयन गर्न सक्ने व्यवस्था रहेको छ।
विधानले महाधिवेशनबाट निर्वाचित पदाधिकारीबाहेक वरिष्ठ नेता, उपसभापति, महामन्त्रीलगायतका पदमा मनोनयनको व्यवस्था गरेको छ। यही प्रावधानअनुसार शाहलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको हो।
यसअघि फागुन २१ को निर्वाचनअघि रास्वपामा प्रवेश गरेका शाहलाई पनि दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेता बनाउने सहमति भएको थियो। भरतपुरमा सम्पन्न पार्टीको पहिलो महाधिवेशनका क्रममा समेत उनलाई वरिष्ठ नेताको भूमिकामा निरन्तरता दिने समझदारी भएको बताइएको छ।
पार्टीभित्र संगठन विस्तार, नीतिगत बहस र नेतृत्व समन्वयमा शाहको सक्रिय भूमिका रहने अपेक्षा गरिएको रास्वपाका नेताहरूले बताएका छन्।
