बाघको बढ्दो संख्या पर्यटनका लागि अवसर, वन्यजन्तु अवलोकनमा नेपाल झन् आकर्षक
फाइल तस्विर
काठमाडौं । नेपालमा पाटे बाघको संख्या ४२९ पुगेसँगै देशको वन्यजन्तु पर्यटन क्षेत्रले नयाँ सम्भावना देखाएको छ। विश्व बाघ दिवसका अवसरमा सार्वजनिक गरिएको पछिल्लो गणनाले नेपाल संरक्षणमा मात्र होइन, वन्यजन्तुमा आधारित पर्यटन गन्तव्यका रूपमा पनि बलियो बन्दै गएको संकेत गरेको छ।
सन् २००९ मा १२१ वटा रहेको बाघको संख्या २४ वर्षको अवधिमा बढेर ४२९ पुगेको छ। पछिल्लो चार वर्षमै ७४ वटा बाघ थपिनुले नेपालका राष्ट्रिय निकुञ्जहरू अन्तर्राष्ट्रिय पर्यटकका लागि अझ आकर्षक बन्ने अपेक्षा गरिएको छ।
विशेषगरी बाँके राष्ट्रिय निकुञ्जले बाघ संरक्षणमा उल्लेखनीय सफलता हासिल गरेको छ। सन् २०२२ मा २५ वटा रहेको बाघको संख्या बढेर ५१ पुगेपछि निकुञ्ज वन्यजन्तु अवलोकनका लागि नयाँ गन्तव्यका रूपमा स्थापित हुन थालेको छ। संरक्षण प्रयाससँगै पर्यटक आगमनमा आएको वृद्धि यसको प्रमाण मानिएको छ।
निकुञ्जका तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा ३०६ जना पर्यटकले भ्रमण गरेको बाँकेमा २०८०/८१ मा ४४४ जना पुगेका थिए। गत आर्थिक वर्ष २०८१/८२ मा भने यो संख्या ह्वात्तै बढेर १,४६६ पुगेको छ। यसले बाघ संरक्षण र पर्यटन विकासबीचको प्रत्यक्ष सम्बन्धलाई उजागर गरेको छ।
वन्यजन्तु अवलोकन, जंगल सफारी, प्रकृति फोटोग्राफी तथा इको–टुरिजममा रुचि राख्ने पर्यटकका लागि बाघ प्रमुख आकर्षण मानिन्छ। चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्जमा बाघको उपस्थिति बलियो बन्दै जाँदा नेपाल दक्षिण एसियाकै महत्वपूर्ण ‘वाइल्डलाइफ टुरिजम हब’ बन्ने सम्भावना देखिएको छ।
पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १४५, बर्दियामा ११२, पर्सामा ७१, बाँकेमा ५१ र शुक्लाफाँटामा ५० वटा बाघ रहेका छन्। यी संरक्षित क्षेत्रहरू अहिले दुर्लभ वन्यजन्तु अवलोकन गर्न चाहने अन्तर्राष्ट्रिय पर्यटकका प्रमुख गन्तव्यका रूपमा परिचित छन्।
पर्यटन व्यवसायीहरूका अनुसार बाघको संख्या बढ्दै जाँदा होटल, होमस्टे, प्रकृति मार्गदर्शक, जंगल सफारी तथा स्थानीय उत्पादनको बजार विस्तार हुने सम्भावना बढ्छ। विशेषगरी तराईका निकुञ्ज आसपासका समुदायले वन्यजन्तु पर्यटनबाट प्रत्यक्ष आर्थिक लाभ लिन सक्ने अवस्था सिर्जना हुँदै गएको छ।
यद्यपि बाघ संरक्षणसँगै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण चुनौती बनेको छ। दीगो पर्यटन र संरक्षणबीच सन्तुलन कायम गर्न सके नेपालले बाघलाई केवल संरक्षणको सफल कथा मात्र होइन, पर्यटन प्रवर्द्धनको शक्तिशाली माध्यमका रूपमा पनि उपयोग गर्न सक्ने विज्ञहरूको भनाइ छ।
सन् २०१० मा गरिएको अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार बाघको संख्या दोब्बर बनाउने लक्ष्य पूरा गरिसकेको नेपाल अहिले विश्वमै सफल बाघ संरक्षण नमूनाका रूपमा चिनिएको छ। यही उपलब्धिले आगामी दिनमा नेपालको प्रकृति तथा वन्यजन्तु पर्यटनलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
फाइल तस्विर
